भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उनी ९२ वर्षका थिए ।
घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो।
उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनको लामौ समयदेखि उपचार भइरहेको थियो र बिहीबार घरमा अचानक बेहोस भएका उनलाई तुरुन्तै घरमा सामान्य उपचारपछि राति ८ः०६ बजे एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो । “सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९ः५१ बजे उहाँलाई मृत घोषित गरियो, “ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सिंहले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा अवकाश विश्राम लिएका थिए । सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनोमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए ।
सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उनले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए ।
उनले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हालेका थिए । उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिएका थिए ।
यसैबीच, भारतीय प्रधानमन्त्री मोदी,लगायतका सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उनलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन् ।
प्रधानमन्त्री मोदीले सिंहको निधनको खबरले आफुलाई दुखी तुल्याएको बताएका छन् । उनले भने, “भारतले आफ्ना एक सम्मानित नेता डा मनमोहन सिंहजीलाई गुमाएको छ। नम्र पृष्ठभूमिबाट उठेर उहाँले एक सम्मानित अर्थशास्त्रीको रूपमा आफ्नो पहिचान बनाउनुएको थियो । उहाँले अर्थमन्त्रीलगायत सरकारका धेरै महत्वपूर्ण पदमा रहेर काम गर्नुभएको थियो । उहाँ हाम्रो आर्थिक नीतिमा गहिरो छाप छोड्नु भएको छ । संसद्मा उहाँको विचारशील हस्तक्षेप सधैं अविस्मरणीय रह्यो । प्रधानमन्त्रीका रूपमा उहाँले जनताको जीवनस्तर उकास्न अथाह प्रयास गर्नुभयो ।”