चलचित्र ‘लाज शरणम्’ को पोस्टर सार्वजनिक

Image

नेपाली चलचित्र लाज शरणम् को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । बुधबार निर्माण टिमले इस्वी संवत् २०२५ को शुभारम्भका अवसरमा चलचित्रको तीन पोस्टर सार्वजनिक गरेको हो ।

चलचित्र चर्चित हास्य सिरियल सक्किगोनि समूहले निर्माण गरेको हो । सार्वजनिक पहिलो पोस्टरमा सक्किगोनिका कलाकार हरिश निरौला (कके) र कलाकार  विजय बराल देखिएका छन् । यसमा विजयले हरिशको ढाडमा बसेर शंख फुकिरहेका देखिन्छन् ।

दोस्रो पोस्टरमा विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), र हरिश निरौला कफिनको फ्रेमभित्र देखिन्छन् । अर्जुन घिमिरे सिरियलकै ‘पाँडे’ पात्रको गेटअपमा देखिएका छन् ।

तेस्रो पोस्टरमा तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन्। उनको अगाडि हिमाल, बस्ती र भगवान् शिवको प्रतिमा देखिन्छ ।

सार्वजनिक पोस्टरले फिल्मले विषयलाई रमाइलो शैलीमा प्रस्तुत गर्ने संकेत गरेको छ । कुमार कट्टेल (जिग्री) को निर्देशन रहेको यो फिल्म आगामी महाशिवरात्रि, फागुन १४ गते देशव्यापी रूपमा प्रदर्शन हुदैछ ।

फिल्ममा विजय बराल, प्रशान्त ताम्राकार, अर्पण थापा, महेश त्रिपाठी, रेणु योगी, माला लिम्बु लगायतका कलाकारको अभिनय छ । सक्किगोनि टोलीबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, र कमलमणी नेपाल (खुपीका बाउ) ले पनि फिल्ममा अभिनय गरेका छन् ।

फिल्मका छायांकार सुदीप बराल हुन् । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र श्रीजना खड्का सह-निर्माताको भूमिकामा छन् ।

‘लाज शरणम्’ हास्य सिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको पहिलो फिचर फिल्म हो । दर्शकहरूले सिरियलबाट पाएको माया र समर्थनले चलचित्रलाई पनि सफल बनाउने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।

फिल्मले गम्भीर विषयलाई रमाइलो र रचनात्मक ढंगले प्रस्तुत गर्ने संकेत पोष्टरहरूबाटै दिएको छ । निर्माण टिमले फिल्मले नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा राखेको छ ।