उत्तर कोरियाले आइतबार फेरि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । इरान युद्धका कारण उत्पन्न तनाव र अमेरिका तथा दक्षिण कोरियासँग सम्भावित वार्ताको चर्चाबिच या खबर आएको हो ।
दक्षिण कोरियाली सेनाका अनुसार मिसाइलहरू देशको पूर्वी तट नजिक रहेको सिन्पो क्षेत्रबाट बिहान करिब ६ः१० बजे प्रक्षेपण गरिएको थियो । ती मिसाइलहरू करिब १४० किलोमिटर टाढा उडेका थिए ।
यो यस महिनाको चौथो र वर्षको सातौँ मिसाइल परीक्षण हो । विश्लेषकहरूका अनुसार उत्तर कोरियाले आफ्नो आत्मरक्षा क्षमताको प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय दबाबबिच शक्ति प्रदर्शन गरिरहेको छ । केही पूर्व सुरक्षा सल्लाहकारहरूले यसलाई अमेरिका र दक्षिण कोरियासँग सम्भावित वार्ता अघि दबाब सिर्जना गर्ने रणनीति भनेका छन् ।
हालैको इरानसँग सम्बन्धित युद्धले पनि उत्तर कोरियाको आणविक नीति र सुरक्षा रणनीतिमा प्रभाव पारेको विश्लेषकहरूको भनाइ छ । यसले प्योङयाङलाई आफ्नो परमाणु कार्यक्रम विस्तार गर्न थप प्रोत्साहन दिएको हुनसक्ने अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति ली जए–म्युङले उत्तर कोरियासँग वार्ता गर्ने इच्छा व्यक्त गरे पनि हालसम्म कुनै औपचारिक बैठक तय भएको छैन ।
उत्तर कोरियाका नेता किम जोङ उनले हालै आफ्नो देशको परमाणु हैसियत अपरिवर्तनीय भएको र आणविक प्रतिरक्षा क्षमता विस्तार आवश्यक रहेको बताएका छन् ।
यसबिच, संयुक्त राष्ट्रसंघका प्रतिबन्ध उल्लङ्घन भएको भन्दै दक्षिण कोरिया र जापानले यी परीक्षणको कडा विरोध गरेका छन् । र उत्तर कोरियालाई उक्साहटपूर्ण गतिविधि रोक्न आग्रह गरेका छन् ।
















