पोखराको सभागृह चोक नजिक बुधबार साँझ भएको ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्या प्रकरणमा प्रहरीले उनकै भाञ्जालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पोखरा महानगरपालिका–५, जीरोकिलोमा व्यवसाय गर्दै आएकी सिर्जनाको सभागृह चोक र सिर्जनाचोकको बीचमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा पर्वतका २७ वर्षिय शिशिर केसीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
शिशिर मृतकका आफ्नै भाञ्जा हुन् । पर्वत नगरपालिका–११ घर शिशिर पोखरमा डेरामा बस्दै आएका थिए । प्रहरीका अनुसार पक्राउ परेका युवक यसअघि पनि लागुऔषध, अभद्र व्यवहार र चोरीजस्ता विभिन्न अभियोगमा पटक–पटक प्रहरी हिरासतमा परिसकेका व्यक्ति हुन् ।
शिशिर हत्यापछि भागेर बुटवल पुगेका थिए । प्रहरीले उनलाई बिहीबार बुटवलबाट पक्राउ गरेको हो । पोखराको पृथ्वीचोकस्थित शिवालय चोकतर्फ जाने गल्लीको कर्नरमा घर जान हिडिरहेकी पोखरा–५, मालेपाटनकी सिर्जनालाई बुधबार राती ७ बजे खुँडा प्रहार गरी हत्या गरेका थिए । त्यस्तै हत्यामा संलग्न रहेको आरोपमा शिशिरका साथी ३२ वर्षिय कुशल परियार पनि पक्राउ परेका छन् । उनी पनि लागुऔषध मुद्धामा दुईपटकसम्म पक्राउ परेका थिए ।
प्रहरीका अनुसार उनीहरु एक महिना अघि देखिनै सिर्जनाको हत्याको योजना बनाएको बयान दिएका छन् । बुधबार उनीहरूले सिर्जनाको पसल अगाडिको चिया पसलमा बसेर निगरानी गरेको र पछि पछ्याउँदै सभागृह चोकतर्फ पुगेको पाइएको छ।
घटनास्थल आसपासका सटरहरू बन्द हुँदै गइरहेको र बत्ती पनि कम भइरहेको मौका छोपेर उनीहरूले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । पारिवारिक कलह, अंश विवाद र सम्पत्तिका कारण हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ । त्यस्तै घटनामा संलग्न रहेको आशंकामा प्रहरीले परिवार अन्य सदस्यमाथि पनि अनुसन्धान गरिरहेको जनाएको छ ।
सिर्जनाका श्रीमान् कृष्णले पहिलो श्रीमती गुमाएपछि सिर्जनालाई दोस्रो श्रीमतीका रूपमा विवाह गरेका थिए। करिब दुई वर्षअघि कृष्णको पनि मृत्यु भएपछि परिवारभित्रको विवाद झन् चर्किएको थियो। कृष्ण पोखराको मालेपाटन क्षेत्रमा खसीबोकाको ताजा मासु बेच्ने व्यवसायीका रूपमा चिनिन्थे। उनले सोही व्यवसायबाट पोखरामै दुईवटा घरसहित अन्य जग्गाजमिन र सम्पत्ति जोडेको बताइएको छ।
उनका जेठी श्रीमतीपट्टि दुई छोरी र एक छोरा छन्। छोरा हाल लागुऔषध कारोबार मुद्दामा कारागारमा छन्। दुई छोरीमध्ये एकको विवाह भइसकेको छ भने अर्की तीन वर्षकी छन्।















