बालगायक सचिन परियारको निधन

Image

भाइरल बालगायक सचिन परियारको निधन भएको छ ।

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वास्थ्य अवस्थामा समस्या आएपछि उनलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । उनी १३ वर्षका थिए ।

सचिनका बाबु तेजेन्द्र परियारले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । सचिनको शव अस्पतालबाट निकालिएको छैन । बाबु र परिवारका सदस्यहरु अस्पतालमा छन् ।

भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन् ।

सचिनले महानायक राजेश हमालसँग एक म्युजिक भिडिओ अभिनय गरेका थिए । हास्य टेलीश्रृङ्खला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन् ।