के छ ओलीको ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)

Image

नेकपा एमालेले दुई ठूला दलको सहकार्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु रहेको जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतन्त्र नै सङ्कट पार्ने स्थितिलाई बोध गर्दै सहकार्य गर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।

‘नेकपा (एमाले) र नेपाली काङ्ग्रेसका बिचमा निर्माण गरिएको यस सहकार्यको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु हो । राजनीतिक अस्थिरता गहिरिँदै जाँदा यसले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा रहेका शक्तिहरूको मनोबल बढ्दै गएर लोकतन्त्र नै सङ्कट पार्ने स्थितिलाई बोध गर्दै हामी यस निष्कर्षमा आइपुगेका हौं’ प्रतिवेदनमा भनिएको छ, ‘अस्थिरता बढ्दै जाने र मुख्य राजनीतिक शक्तिहरू विभाजित अवस्थामा रहने स्थितिले राष्ट्रिय मनोबललाई कमजोर तुल्याउने, भूराजनीतिक प्रतिष्पर्धाको चुनौतीपूर्ण अवस्थामा राष्ट्रिय हितको रक्षा झनै कठिन हुने र नेपालको अहित चाहनेहरूलाई सजिलो हुने यथार्थलाई पनि हामीले अनुभूत गरेका छौं ।’

ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन अनुसूचीसहित ४७ पृष्ठको रहेको छ । प्रतिवदेनमा उनले ओलीले माओवादी केन्द्रलाई अवसरवादीको आरोप लगाएका छन् । सरकारबाट बाहिरिएपछि माओवादी अध्यक्ष प्रचण्डले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै ओलीले तीव्र रोष प्रकट गरेका छन् । साउनको दोस्रो हप्ता माओवादी अध्यक्ष प्रचण्डले बंगलादेशमा प्रधानमन्त्री शेख हसिनालाई त्यहाँका जनताले सत्ता छोड्न बाध्य बनाएको प्रसङ्ग उठाएका थिए ।

‘गैर-कूटनीतिक र अशोभनीय टिप्पणी मात्रै थिएन, राजनीतिक अवसरवादको भद्दा नमूना पनि थियो,’ ओलीले लेखेका छन्, ‘आज माओवादी–केन्द्र एक वर्ष अगाडि आफ्नै प्रदेशसभा सदस्यहरूको समेत सहभागितामा नामाकरण गरिएको ‘कोशी’ को विरुद्ध उग्र समूहहरूसँग मोर्चाबन्दी गरिरहेको छ । ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्‍याउन उद्दत देखिएको छ । पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको छ ।’