भूकम्पबाट चीनमा कम्तिमा ३६ जनाको मृत्यु

Image

नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा३६ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् ।

चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ३६ जनाको मृत्यु भएको जनाएको छ । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७.१ म्यागनिच्युटको शक्तिशाली भूकम्प गएको थियो ।

यो क्षति प्रारम्भिक विवरण मात्र हो । विस्तृत विवरण आउन बाँकी छ । उक्त भूकम्पको धक्का नेपालको पूर्वी क्षेत्र हुँदै काठमाडौँ उपत्यकासम्म महसुस भएको थियो।

 दिङ्गे गाउँ दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ । नेपाल र चीनको सिमानामा केन्द्रबिन्दु रहेको शक्तिशाली भूकम्पले क्षति पुर्‍याएको हुनसक्ने अनुमान भएपनि यसको भने अझै यकिन विवरण प्राप्त भइसकेको छैन ।

भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए ।