मधेश प्रदेश सभाको चौथो अधिवेशनको बैठक आजदेखि सुरु हुने भएको छ । चार महिनादेखि अवरुद्ध प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बोलाइएको हो ।
बैठकमा प्रदेश प्रमुखबाट प्राप्त मधेश प्रदेश सभाको चौथो अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने लगायतको कार्यसूची रहेको प्रदेश सभा बासुप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र पढेर सुनाउने, मधेश प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ११ बमोजिम बैठकको अध्ययक्षता गर्ने सांसदको मनोनयन हुने समेत कार्यसूची छ ।
बैठकमा प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले मधेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गर्ने र अधिवेशनको प्रारम्भको अवसरमा दलीय आधारमा प्रदेश सभाका सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
केही दिनअघि मधेश प्रदेशका प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले पत्रकार सम्मेलन गरी प्रदेश सभाको बैठक बोलाउन सरकारसँग माग गरेका थिए ।
















