नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अनेरास्ववियू क्रान्तिकारीको जारी महाधिवेशन र यसको नेतृत्वबारे बहस भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पूर्व विद्यार्थी अध्यक्षहरु तथा युवा नेताहरुले क्रान्तिकारीको नयाँ नेतृत्व तथा ३२ वर्षे उमेरहद लागेर बिदा भएका देशभरका झण्डै ६ सय नेता कार्यकर्ताबारे चासो राखिरहेका छन् ।
आज तेस्रो दिनको बैठमा क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङले पार्टी केन्द्रीय समितिको यही बैठकबारे बिदा भएका नेताहरुबारे निर्णय गरेर जान प्रस्ताव गरेका छन् । बैठकमा बोल्दै उनले भने, ‘युवाहरुको भर्ती खोलेर पार्टी निर्माणका जिम्म दिनु पर्दछ । युवाहरुलाई निराश बनाएर पार्टीमा उत्साह आउँदैन । उमेरहदका कारण बिदा हुने विद्यार्थीहरुलाई सबै तहमा प्राथामिकताका साथ यहीबाट न्यायोचित निर्णय गरेर जाउँ ।’
तामाङले वर्तमान सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङमाथि गर्न लागेको कारबाहीबारे पनि बैठकमा धारणा राखे । ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएमा तत्काल पार्टी सडक संघर्षमा जानुपर्छ,’ उनले भने ।
अध्यक्ष प्रचण्डको नेतृत्वको विकल्प पार्टीमा नभएको तर्क अघि सार्दै तामाङले भने, ‘प्रचण्ड पोश्चर नै माओवादीको विगत, वर्तमान र भविष्य हो, पार्टी पदाधिकारीमा पनि आशालाग्दा नेताहरु हुनुहुन्छ । उहाँहरुको पासपोर्ट साईजको फोटोको पनि कार्यकर्तालाई हेक्का छ । उहाँहरुले धैर्यता गर्नुपर्दछ । माओवादीलाई २०६४ सालमा फर्काउनका लागि पार्टीमा एकता र केन्द्रीकरण जरुरी छ ।’
तामाङले थपे, ‘अध्यक्षले ल्याउनु भएको प्रस्तावको स्पिरिट ठिक छ, जनउत्साहलाई ध्यान दिँदै ६ महिना अभियान चलाउ, पार्टीमा उत्साह थपेर, थप जनसमर्थन जुटाउदै फर्केर सिधै महाधिवेशनको तयारीमा जुटौ । आजको आवश्यकता यहि हो । अहिले व्याप्त भ्रष्ट्राचारका विरुद्ध देश एकताबद्ध हुन्छ, यो एजेण्डामा जनता जुट्ने छन् । हाम्रो नेतृत्वको सरकारले चलाएको सुशासनको अभियान नै अहिलेको मुख्य एजेण्डा बनाउनु पर्छ,’ उनले भने ।














