अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई नेपालीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्ट छन् । १० फिट जमेको पानीमा उनीहरू डुबेको समाचारमा उल्लेख छ । उद्धारका लागि पोखरीमा प्रहरी पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो ।
“यो सानो सजावटी पोखरी हो । वास्तवमै यसमा डुबेर मृत्यु हुन्छ जस्तो लाग्दैन,” उद्धार प्रयासको प्रत्यक्षदर्शी बोनी गोल्डेनले भनेका छन्, “कहाँ मृत्यु हुन्छ भनेर सोच्दा पनि डरलाग्दो छ ।”