पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशसभा हुँदै अन्तत: संघीयता नै खारेज गर्ने निर्णय गरेको हो भने त्यो ठुलो भुल हुने चेतावनी दिएका छन्।
चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनले उपसभापति डा. स्वर्णिम वाग्लेले पेस गरेको प्रदेशसभा खारेजीसहित संघीयता पुनर्संरचना गर्ने अवधारणसहितको ‘अर्थ-राजनीतिक प्रस्तावना’ पारित गरेपछि राजनीतिक वृत्तमा ठुलो बहस सिर्जना गरेको छ।
यसै क्रममा रास्वपाका प्रशंसक भट्टराईले समेत त्यसको आलोचना गरेका हुन्।
‘नयाँ सत्तासीन दल रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने र प्रकारान्तरले संघीयता भत्काउने निर्णय गरेको हो भने त्यो ठुलो भुल हुनेछ’, डा भट्टराईले चेतावनी दिँदै बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले ‘नदुखेको कपाल डोरी लगाएर दुखाउनु सट्टा संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल ‘चुपचाप सुशासन र विकास’तिरै केन्द्रित हुनु बुद्धिमानी हुनेछ। जो मर्जी।’
यस्तो छ बाबुरामको पूरा भनाइ
नयाँ सत्तासीन दल रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने र प्रकारान्तरले संघीयता भत्काउने निर्णय गरेको हो भने त्यो ठुलो भुल हुनेछ।
पहिलो त विधिको हिसाबले एकातिर आफ्नै नेतृत्वको सकारले ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय अरूमाथि लाद्ने हो भने दलहरू, विभिन्न जातिहरू र आम जनसमुदायबिचमा ठुलो विश्वासको संकट पैदा हुनेछ र त्यसले देशलाई अनिष्टतिर धकेल्नसक्छ।
दोस्रो, हाम्रो जस्तो जातीय/राष्ट्रिय र क्षेत्रीय विविधतायुक्त मुलुकमा लामो बलिदानीपूर्ण संघर्षपछि निर्वाचित संविधानसभाबाट अधिकतम सहमतिसहित गरिएको पुरानो एकात्मक राज्यको संघीय पुनर्संचना जानेर/नजानेर भत्काइयो भने त्यसले गम्भीर जातीय-क्षेत्रीय द्वन्द्व र अशान्ति सिर्जना गर्नेछ। जुन कसैको पनि हितमा हुनेछैन।
त्यसैले ‘नदुखेको कपाल डोरी लगाएर दुखाउनु’सट्टा संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल ‘चुपचाप सुशासन र विकास’तिरै केन्द्रित हुनु बुद्धिमानी हुनेछ। जो मर्जी!














