बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । गएराति साढे २ बजे बान्द्राको घरमै कलाकार सैफमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट उनी घाइते भएको र अहिले लिलावती अस्पतालमा उपचार भइरहेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ ।
समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत गर्दै एक व्यक्ति सैफको घरमा प्रवेश गरेर घरेलु कामदारसँग झगडा गरेको जनाएको छ । त्यसपछि सैफले हस्तक्षेप गर्न खोज्दा ती व्यक्तिले उनीमाथि आक्रमण गरेको एएनआईले उल्लेख गरेको छ । उनलाई चक्कुले ६ पटकसम्म प्रहार गरिएको बताइन्छ । सैफको घाँटी र मेरुदण्डको नजिक गहिरो चोट लागेको छ । चोरसँगको घम्साघम्सीमा सैफका घरेलु कामदारलाई पनि सामान्य चोट लागेको छ ।
सैफमाथि यो आक्रमण उनका बच्चा तैमूर र जेहको कोठामा भएको थियो । आक्रमणकारी कसरी घरभित्र प्रवेश गरे र त्यहाँसम्म पुगे भनी प्रहरीले अनुसन्धान गरिरहेका छन् । ति व्यक्ति पहिले नै घरभित्र थिए वा बाहिरबाट आए भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।