सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानका निम्ति कलाकार मनीषा कोइरालालाई सद्भावना दूत घोषणा गरेको छ । उनलाई आगामी दुई वर्षका निम्ति सद्भावना दूत तोकिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार घोषणा समारोहबीच दुई पक्षबीच सम्झौता गरिएको हो । सम्झौतापत्रमा कलाकार कोइराला र मन्त्रालयका तर्फबाट स्वास्थ्यसचिव डा. रोशन पोख्रेलले हस्ताक्षर गरेका छन् ।
विश्वसनीय अनुहारबाट प्रचार गर्दा अभियान सफल हुने विश्वासका साथ कलाकार कोइरालालाई सद्भावना दूत छनोट गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै कलाकार कोइरालाले खोप अभियानमा र दुई वर्षसम्म नै सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने एचपीभी खोप अभियानका निम्ति सबै खोप केन्द्रमा खोप पुगिसकेको मन्त्री पौडेलले जानकारी दिए । अभियानमा १०–१४ वर्षसम्मका करिब १७ लाख बालिकालाई यो खोप दिइँदै छ ।