२३ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइयो

Image

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत देशभर करिब २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ।

मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीका अनुसार वैशाख ६ र ७ गते सञ्चालन गरिएको कार्यक्रममा २१ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइएको छ। साथै, आठ लाख बालबालिकालाई बालभिटा वितरण गरिएको जनाइएको छ।

कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि तथा ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई बालभिटा खुवाइएको थियो।

सरकारले बालबालिकाको दृष्टि सुरक्षित राख्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन, कुपोषण न्यूनीकरण गर्न तथा बालमृत्युदर घटाउन यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यस अभियानमा करिब ५० हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र १५ हजार स्थानीय तहका स्वास्थ्यकर्मी परिचालित भएका थिए।

सरकारले २०५९ सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम तथा २०६७ सालदेखि जुकाको औषधि खुवाउने कार्यक्रम नियमित रूपमा कात्तिक र वैशाख महिनामा सञ्चालन गर्दै आएको छ।