केही वर्षअघि ठुलो सपना बोकेर जापान पुगेका बाग्लुङका मधु आचार्यले आफै बस्ने कोठाभित्र चुक्कुल लगाएर आत्महत्या गरे । कुक भिसामा जापान पुगेका आचार्यले आत्महत्या गर्नुको कारण ठ्याक्कै नखुले पनि यसको मुख्य कारण विदेशको चुनौतीपूर्ण जीवनबाट हारेर आत्महत्याको बाटो रोजेको परिवारको भनाई थियो । परिवारसहित जापानमा रहेको उनी केही समयदेखि सोचेजस्तो गर्न नसकेको भन्दै तनावमा देखिन्थे ।
सोही वर्ष बाग्लुङकै अर्का युवा मोहन बहादुर बस्नेतले आत्महत्याको बाटो रोजे । श्रीमती र छोरीसहित कामतामा बस्ने उनले आत्महत्या गर्नुको कारण पनि व्यवसायमा भोगेको असफलता भएको जापानका क्रियाशील नेपाली समुदायका अगुवाको बुझाई छ । परिवारसहित टोकियोमा बस्ने उनको व्यवसायमा घाटा हुन थालेपछि उनको परिवारभित्रै समेत खटपट सुरु भएको थियो । व्यवसायमा घाटा र परिवारभित्रको खटपटले तनावमा देखिएका बस्नेत अपेक्षित प्रगति गर्न नसकेकै कारण जीवन त्याग्ने बाटो रोजेको हुन सक्ने उनी निकटको बुझाई थियो ।
जापनको मियाजाकी सहरमा बस्ने युवतीले दुधे बालिकालाई छोडेर आत्महत्याको बाटो रोजिन । श्रीमानसँगै बस्दै आएकी उनको आत्महत्याको ठ्याक्कै कारण पुष्टि नभए पनि अन्तरजातीय विवाह गरेर जापान पुगेकी उनले पारिवारिक असमझदारीकै कारण यस्तो बाटो रोजेको हुन सक्ने अनुमान छ ।
यसको ठ्याक्कै १ वर्षअघि बाग्लुङ ताराखोलाकी पूर्णा थापाले आत्महत्याको बाटो रोजिन् । विद्यार्थी भिसामा जापान पुगेकी उनले पनि जापानको अध्ययन र रोजगारी आफुले सोचेजस्तो नभएका कारण डिप्रेसनमा पुगेर आत्महत्याको बाटो रोजेको देखिन्छ ।
यी त जापानमा नेपालीलाई आइपर्ने चुनौतीको सामना गर्न नसकेकै कारण डिप्रेसनमा जाने र आत्महत्या रोज्ने गरेका प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो पटक भएका सर्वेक्षणमा जापानका आत्महत्याका घटना बढेर गएको देखिन्छ । त्यसमा नेपालीहरूको सङ्ख्या पनि डरलाग्दो भएको तथ्याङ्कमा उल्लेख छ । जापानस्थित नेपाली दूतावासको तथ्याङ्क अनुसार जापान पुगेर आत्महत्याको बाटो रोज्नेको सङ्ख्या दर्जन बढी पुगिसकेको छ ।
यसको कारण नेपालमा कल्पना गरिएको जापान र वास्तविक जापानबिचको असन्तुलन नै मुख्य हो । सपनाको देश मानेर जापान आइपुग्नेले यहाँ आइपुगेपछि देखा पर्ने मानसिक तनाव र नैराश्यतालाई हल गर्न नसक्दा डिप्रेसनमा पुग्ने र आत्महत्याको बाटो रोज्ने गरेको देखिन्छ ।
जापान आइपुगेसँगै चाँडो कमाइ भइहाल्छ भन्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा उनीहरूमा नैराश्य बढ्ने गरेको छ । यसबाहेक बढ्दो उमेरसँगै थपिने जिम्मेवारी, कामको बोझ, पारिवारिक तनाव, साझेदारीमा भएका व्यवसायमा हुने आपसी खटपट र गम्भीर स्वास्थ्य समस्याका कारण पनि नेपालीहरूले आत्महत्याको बाटो रोज्ने गरेको एभरेस्ट इन्टरनेशनल स्कुलका अध्यक्ष मेघराज नेपाल बताउँछन् । विदेशमा भाषा, संस्कृति आफू सुहाउँदो नहुनु र निरन्तर काममा खटिनुपर्ने तथा विगतको भूमिका नजरअन्दाज गरिँदा हीनता र नैरास्यता उत्पन्न भई आत्महत्याको बाटो रोज्ने गरेको नेपालको बुझाई छ ।
जापानमा नेपालीका लागि मध्यनजर गरि अंग्रेजी माध्यमबाट पढाई हुने विद्यालय चलाएका नेपालले यो समस्या विद्यार्थी भिसामा आउनेमा झन् बढी देखिएको भन्दै यसको रोकथामका लागि जापानमा क्रियाशील नेपाली समुदायका संघसस्थाहरुले डिप्रेसन परामर्श सेवा चलाउनुपर्ने बताउँछन् ।
त्यसो त जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ ।
मन्त्रालयका अनुसार सन् २०२३ मा ५१३ जना विद्यार्थीले आत्महत्या गरेकोमा सन् २०२४ मा यो सङ्ख्या ५२७ पुगेको थियो ।
यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या बिस वर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो ।
जापानमा आत्महत्या गर्ने २० वर्षभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या भने सन् २०२३ मा ८१० जना रहेकामा सन् २०२४ मा घटेर ८०० जनामा झरेको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
“हामी यसलाई गम्भीरतापूर्वक लिन्छौ,’ जापानको मन्त्री परिषद्का सहायक मुख्य सचिव केइचिरो टाचिबानाले नियमित पत्रकार सम्मेलनमा भने ।
उनले भने, “बालबालिकाको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न र कसैलाई पनि आफ्नो ज्यान लिन दबाब नदिइने समाजलाई साकार पार्न हामी सक्दो प्रयास जारी राख्नेछौँ ।”
स्वास्थ्य मन्त्रालयले थप तथ्याङ्क उपलब्ध भएपछि मार्चमा तथ्याङ्कको विश्लेषण जारी गर्ने अपेक्षा गरिएको थियो ।
जापानमा हरेक वर्ष अगस्टको अन्त्यदेखि सेप्टेम्बरको सुरुसम्म हरेक गर्मीयामको बिदाको अन्त्यमा किशोर किशोरीले आत्महत्या गर्ने क्रम बढ्दै गएको छ । यसका कारण सरकार र सञ्चार माध्यमले समस्याहरूसँग सङ्घर्षरत किशोर किशोरीलाई आत्महत्या रोज्नबाट रोक्न सार्वजनिक रूपमा आह्वानलाई बढवा दिएका छन् ।
अधिकांश विद्यार्थीले आत्महत्या गर्नुको वास्तविक कारण भने खुल्न सकेको छैन । विगतको विश्लेषणले किशोर किशोरीहरूलाई अध्ययन, बदमासी, सम्बन्ध, क्यारियर छनौट र स्वास्थ्य समस्याहरूसँग सम्बन्धित धेरै दबाबहरूको सामना गरिरहेको देखाएको छ।
सन् २००३ मा जापानमा आत्महत्या गर्ने पुरुषको सङ्ख्या महिलाकोभन्दा एक तिहाइले बढी थियो । त्यसयता पुरुष आत्महत्या दर घटेको छ यद्यपि, यो अझै पनि महिलाको तुलनामा दोब्बर छ ।
सरकारले सञ्चालन गरेका व्यापक जागरूकता अभियान, मानसिक स्वास्थ्य सेवा र कठोर कार्यस्थल संस्कृति सुधार गर्ने प्रयासलाई पुरुषको आत्महत्या दर नियन्त्रणका लागि श्रेय दिइन्छ ।