सुन्तला बिक्रीबाट पाल्पामा भित्रियो ५२ करोड ७६ लाख

पाल्पामा यो वर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख सन्तोषकुमार चौधरीका अनुसार अघिल्लो वर्षभन्दा ३३७ मेट्रिक टन बढी उत्पादन भएको हो । गत वर्ष आठ हजार ८६१ मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको थियो ।

‘सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय यहाँका किसान व्यावसायिक उत्पादनमा लागेका छन्’, उनले भने, ‘अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन क्षेत्र बढेको छ, बजारीकरण सहज भएको छ ।’

यो वर्ष रैनादेवीछहरा गाउँपालिकामा ४५२ हेक्टर क्षेत्रफलमा तीन हजार ६३९ मेट्रिक टन, रिब्दिकोटमा ३९६ क्षेत्रफलमा तीन हजार एक सय ८४ मेट्रिक टन र बगनासकालीमा ११३ हेक्टरमा ९१० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस्तै पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा ७२८ मेट्रिक टन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा ५४६ मेट्रिक टन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

जिल्लामा सुन्तला उत्पादनका लागि एक हजार १९६ हेक्टर क्षेत्रफल रहेता पनि एक हजार १३० हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्र हो । जिल्लाका दश पालिकामध्ये छवटा पालिकामा व्यावसायिक हिसाबले सुन्तला हुने गरेको छ । अन्नबालीको तुलनामा सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायिक उत्पादनमा जोड दिएका छन् ।