भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज दिल्लीमा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। आइतबार दिल्ली पुगेका शाहले भारतीय समयअनुसार सोमबार बिहान ११ बजे भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ।
आइतबार साँझ शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबिच ताज होटलमा संक्षिप्त वार्ता भएको थियो। आज मोदीसँग करिब आधा घण्टाको वार्तापछि दिउँसो १२ः२५ बजे दुई प्रधानमन्त्रीबिच समझदारीपत्र आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने तालिका छ।
त्यसअघि आज बिहान १० बजे दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गर्ने तालिका छ। स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषय समेटिने अपेक्षा छ।
राष्ट्रपपति भवनमा स्वागतपछि आजै बिहान १०ः४० बजे प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।प्रधानमन्त्री शाहले आज दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ।
प्रधानमन्त्री शाहसँग मन्त्रीहरू, उच्च सरकारी अधिकारी, उद्योगी–व्यवसायी तथा पत्रकार पनि दिल्ली पुगेका छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो राजकीय भारत भ्रमण हो।
प्रधानमन्त्री शाह भ्रमण टोलीसहित सोमबार अपराह्न ४: ५० बजे स्वदेश फर्किने तालिका छ।
















