भारतले भन्यो– नेपालसँगको क्रिकेट सम्बन्ध महत्त्वपूर्ण कडी

Image

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदलगायत नयाँ क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाएको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुई देशबीच सहकार्यका विविध विषयमा छलफल हुने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने कार्यक्रम छ । भ्रमणका क्रममा उनलाई राजकीय सम्मान प्रदान गरिने पनि प्रवक्ता जयसवालले बताए ।

नेपाल र भारतबीच ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले विद्यमान सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउने विषय भ्रमणको प्राथमिकतामा रहने बताए ।

उनका अनुसार भ्रमणका क्रममा विकास सहकार्य, जनस्तरको सम्बन्ध, ऊर्जा सहकार्य र कनेक्टिभिटीसँगै स्टार्टअप, प्रविधि, नवप्रवर्तन तथा खेलकुदका क्षेत्रमा सहकार्य विस्तारबारे छलफल हुनेछ ।

प्रवक्ता जयसवालले क्रिकेटलाई पनि नेपाल र भारतबीचको सम्बन्धको महत्त्वपूर्ण कडीका रूपमा व्याख्या गरे । उनले दुई देशबीच क्रिकेटमार्फत जनस्तरको सम्बन्धसमेत थप मजबुत भइरहेको बताए ।

भ्रमणका क्रममा हुने थप गतिविधि र छलफलका विषयबारे जानकारी गराउँदै जाने उल्लेख गर्दै उनले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई भारतले महत्त्वपूर्ण रूपमा लिएको बताए ।