अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको फिल्म ‘ताण्डवम्’को सेन्सर पास भएको छ । निर्माण टिमले व्यापक काँटछाँट गरेपछि केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) पिजी सर्टिफिकेट दिएको निर्देशक जुनिम गहतराजले बताए ।
अब यो फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ लिएर जानु पर्नेछ । अभिनेता समेत रहेका निर्देशक जुनिमले कथाको मर्म नमर्ने गरि सिनेमाको हिंसात्मक दृश्य काटिएको बताए ।
पहिलो पटक सेन्सर गर्न लैजादा २ घण्टा ६ मिनेट लामो सिनेमाले दोस्रो सेन्सरबाट करिब १ घण्टा ५६ मिनेटको रनटाइम बनाइएको छ। पुरा सिनेमाबाट करिब १० मिनेट रनटाइम घटाइएको निर्देशक गहतराजले बताए ।
‘हामीले राम्रो सिनेमा दर्शकलाई पस्किने प्रयास गरेका छौं । दर्शकले पनि मन पराउने विश्वास हामीलाई छ । काँटछाँट गरिएको सिनेमालाई समेत सेन्सर पदाधिकारीले रुचाएको उनले जानकारी दिए । सेन्सरबाट राम्रो प्रतिक्रिया मिलेकाले दर्शक तथा समीक्षकलाई पनि ‘ताण्डवम्’ मन पर्ने विश्वास निर्देशकको छ ।
सिनेमाको सेन्सर पास भएसँगै आजै अग्रीम टिकट बुकिङ खोल्ने तयारी निर्माण टिमको छ। शुक्रबार फागुन ९ गतेबाट सिनेमा देशभरका सिनेमा घरमा रिलिज हुनेछ ।
यस फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।













