अनामनगरस्थित धोबीखोला पुलछेउ सवारी दुर्घटनाको सम्भावना बढ्दै गएपछि अस्थायी रुपमा सुरक्षात्मक उपाय अपनाइएको छ । सिंहदरबार प्रहरी वृत्तले बिहीबार पुलछेउमा रिफ्लेक्टर र डोरीको सहयोगमा अस्थायी समाधान गरेको हो ।
गत सोमबार सोही स्थानमा कार दुर्घटना भएपछि सम्भावित दुर्घटना रोक्न सुरक्षात्मक उपाय अपनाइएको प्रहरीको भनाइ छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गंगाप्रसाद पौडेलका अनुसार स्थायी रुपमा बार निर्माण गर्ने प्रक्रिया अगाडि बढिसकेको छ । उनले यसका लागि केही समय लाग्ने भएकाले तत्कालका लागि अस्थायी सुरक्षा उपाय अप्नाएकाे बताए ।
एसएसपी पौडेलले स्थानीयको सहयोगमा रिफ्लेक्टर र डोरी राखिएको बताउँदै यो समाधान दीर्घकालीन नभए पनि तत्कालका लागि प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
‘हालसालै कार दुर्घटना भएको थियो, जसमा मानवीय क्षति नभए पनि गम्भीर हुन सक्थ्यो । चालकहरू पुलको ट्रनिङ ठ्याक्कै त्यहीँ होला भनेर झुक्किने गरेका छन्,’ उनले भने । ‘यस्ता घटना बारम्बार नदोहरिउन् भनेर अस्थायी रूपमा सुरक्षित बनाएका हौं। स्थायी बार निर्माणको टेण्डर प्रक्रियामा छ, त्यसलाई छिटो पूरा गर्न पहल भइरहेको छ ।’
पुलछेउ बार नहुँदा सवारी दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयहरूले सरकारलाई स्थायी संरचना निर्माणमा ध्यान दिन आग्रह गरेका छन् । उनीहरूले साना विकास निर्माणका काममा पनि गम्भीरता अपनाउनुपर्ने बताएका छन् ।