मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र शुरु भएको छ ।
मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का अधिकांश ठाउँमा कालोपत्र सकिँदा लामो समयपश्चात् दमौली बजारमा कालोपत्र शुरु भएको हो । दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा शुक्रबारदेखि कालोपत्र थालिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । दमौली बजारमा सडक मापदण्डभित्र रहेका घरहरू भत्काउने क्रमले तीव्रता लिएसँगै बागबजारमा कालोपत्र थालिएको उनले बताए ।
उनले भने, ‘बागबजार टोलमा एकतर्फी कालोपत्र थालिएको छ । एकतर्फीको कालोपत्र सकिएसँगै अर्कोतर्फ कालोपत्र हुनेछ ।’ बागबजार क्षेत्रमा सडक नाला निर्माणसँगै कालोपत्रलाई अगाडि बढाइएको उनको भनाइ छ । पूर्वी खण्डमा हालसम्म ७७.७ प्रतिशत भौतिक प्रगति भएको छ। पूर्वी खण्डमा पर्ने ४१.४५ किलोमिटर दूरीमध्ये ३४.५ किमीमा चार लेन र ३.१ मा दुई लेन सडक कालोपत्र भइसकेको छ ।
यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ६० प्रतिशत सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम शुरु भएको थियो ।
पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु. ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।