बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउँछन्।
‘तल कालीगण्डकी र माथि ठाडो अक्करे भिरको बीचमा रहेको काभ्रेदेखि घाँसा नपुग्दासम्म मनमा डर लागिरहन्थ्यो,’ उनले भने, ‘अक्करे भिरमा पनि सडक फराकिलो बनाएर ढलान गरी डिलतर्फ बार लगाएपछि अहिले ढुक्कका साथ गाडी चलाउन पाइएको छ।’
भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार र ढलान गरिएपछि यात्रा सहज, सुरक्षित र दुर्घटनाको जोखिम घटेको हो। काभ्रेभिरदेखि घाँसासम्मको दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ।
‘धेरै ठाउँमा विस्फोटक पदार्थ प्रयोगबाट पहाड फुटाएर सडक फराकिलो पारिएको छ,’ योजनाका इञ्जिनियर विष्णु चापागाईले भने, ‘तल बग्ने कालीगण्डकीले बनाएको खोच र विस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएको काभ्रेभिर क्षेत्रमा ‘रक एंकरिङ/रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको हो।’
उनका अनुसार सडकमुनिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो। रक एंकरिङ गर्न मजदुरले ड्रिलिङ गरेर फलामको रड राख्ने प्वाल (होल) बनाएका थिए । तीन दशमलव पाँच मिटर फराकिलो सडकमा यसअघि एकतर्फी मात्र सवारीसाधन चल्ने गर्दथे। हाल यस क्षेत्रको सडकलाई कम्तीमा आठ मिटर फराकिलो बनाइएको हो। नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ।
















