सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०८१/८२ मा प्राप्त बजेटमध्ये हालसम्म १७.९३ प्रतिशत मात्रै खर्चिन सकिएको विवरण सार्वजनिक गरेको छ ।
चालू आर्थिक वर्षको आठ महिने प्रगति विवरण सार्वजनिक गर्दै मन्त्रालयलाई प्राप्त ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार बजेटमध्ये हाल हालसम्म १२ अर्ब २४ करोड ३ लाख ८७ हजार रुपैयाँ मात्रै खर्च भएको जानकारी दिएको हो । चालू आर्थिक वर्ष सकिन अब करिब चार महिना मात्रै बाँकी छ ।
मन्त्रालयका अनुसार चालूतर्फ ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार विनियोजित छ । हालसम्म चालूतर्फको खर्च २५.२३ प्रतिशत छ भने पुँजीगततर्फको खर्च १७.४३ प्रतिशत छ ।
मन्त्रालयका अनुसार चालू आवका लागि ३ हजार ७१६ नयाँ कार्यक्रममध्ये जम्मा १ हजार ६२३ वटा कार्यक्रमको बोलपत्र आह्वान भएको छ । त्यसैगरी बोलपत्र आह्वान भएका १ हजार ६२३ कार्यक्रममध्ये पनि १ हजार ९८ वटा कार्यक्रमहरूको ठेक्का सम्झौता भई १२४ वटा कार्यक्रमको निर्माण कार्य सम्पन्न भईसकेको छ ।
बोलपत्र आह्वान हुन नसकेका बाँकी २ हजार ९३ वटा कार्यक्रममध्ये २ सय ८८ वटा कार्यक्रम बहुवर्षीय स्वीकृतिका लागि प्रस्तावित कार्यक्रम हुन् भने ८० वटा कार्यक्रम संशोधनका लागि प्रस्तावित कार्यक्रम हुन् । संशोधनका लागि प्रस्तावित ८० वटा कार्यक्रममध्ये ४४ वटा संशोधन भई आइसकेको छ भने बाँकी संशोधन हुने प्रक्रियामा छन् ।















