दोलखाको लामाबगर–लप्ची फलाक नाका बीचको सडक निर्माण नुहुँदा सो नाकाबाट हुने नेपाल–चीनबीचको व्यावसायिक कारोबार रोकिएको छ ।
चीन, नेपाल र भारत जोड्ने छोटो सडक मार्गका रूपमा चर्चा पाउँदै आएको दोलखाको लामाबगर लप्ची फलाक नाकामा सडक निर्माणका लागि स्थानीयले पटक पटक सरकारसँग माग गर्दा समेत निर्माण हुन नसकेपछि कारोबार रोकिएको हो ।
चीनले तिब्बतसँग जोडिएको लप्ची फलाक नाका खोले पनि सडक सञ्जाल नहुँदा व्यापारिक कारोबार भने हुन नसकेको स्थानीयहरूले बताएका छन्। सो नाकालाई नेपाल, भारत र चीन त्रिदेशीय नाकाका रूपमा पनि उत्तर दक्षिण सबैभन्दा छोटो मानिन्छ । दोलखादेखि सिंगटीसम्मको सडक स्तरोन्नति र सिंगटीदेखि लामाबगरसम्मको सडक निर्माणको सम्पूर्ण काम माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले गरेको छ भने लामाबगरभन्दा माथिल्लो क्षेत्रमा पनि अन्य जलविद्युत आयोजनाहरूले नै सडक निर्माण गरिरहेका छन् ।
लामाबगरदेखि थाम्चेम्बुसम्म २० किलोमिटर सडक खण्डमा कठिन भीर र सुरुङमार्ग छन् । ११ मिटर सुरुङमार्गसहित खराने खोला हुँदै हाल हुरहुरेसम्म गाडीमा जान सकिन्छ । तर त्यसभन्दा माथि अर्को कठिन भीर हुरहुरेमा सडक निर्माणको काम पनि जलविद्युत आयोजनाहरूले गरिरहेका छन् ।

उक्त सडक र नाकाको भौगोलिक अवस्था अध्ययन र अवलोकन गर्न दोलखा जिल्लाका पूर्वमन्त्री पार्वत गुरुङ, कांग्रेस दोलखाका सभापति बर्मा लामा, एमालेका दोलखा अध्यक्ष नरबहादुर श्रेष्ठ लगायत स्थानीय जनप्रतिनिधि र सडक विभाग प्रतिनिधि सो क्षेत्रमा गएका थिए । हुरहुरेमा पक्की पुल निर्माण करिब दुई किलोमिटर ट्रयाक खोल्न सके अस्थायी रूपमा लप्ची फलाक नाका जोड्न सकिने पूर्वमन्त्री पार्वत गुरुङले बताए । नाकासम्म सहज रूपमा आवतजावत गर्न सके स्थानीय उत्पादन चीनमा पुर्याउन सकिने र चीनबाट आवश्यक सामान नेपाल ल्याउन सहज हुने उनले बताए ।
एमालेका दोलखा अध्यक्ष श्रेष्ठले लामाबगर(लप्ची फलाक नाकामा सडक निर्माण हुन सके दोलखा लगायत समग्र मुलुकको समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। त्यस्तै कांग्रेस दोलखाका सभापति बर्मा लामाले धार्मिक पर्यटकका साथै दुई देश बीचको व्यापारिक सम्बन्ध थप स्थापित गर्नका लागि सडक निर्माणका लागि पहल गरिएको बताए ।
त्यस्तै सडक डिभिजन, चरिकोटका डिभिजन प्रमुख ईं। अमित कुमार श्रेष्ठले हुरहुरेको कठिन भीर काटेर त्यस क्षेत्रमा पुल निर्माण गर्न सके बाँकी सडक निर्माण गर्न सहज हुने र सडकमार्ग हुँदै नाकासम्म पुग्न सकिने भएकाले त्यसको निरीक्षण गरिएको बताए । फलाक नाकासम्म सडक विस्तार हुँदा दुई देश बीचको व्यापार विस्तारले मुलुकको अर्थतन्त्रको विकासमा समेत ठूलो टेवापुग्न सक्ने सो क्षेत्रका जनप्रतिनिधिहरूको विश्वास छ ।














