भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार, नियमित विधेयकका रुपमा अघि लैजाने (भिडियो)

Image

सरकारले भूमिसम्बन्धी अध्यादेशलाई नियमित विधेयकका रुपमा अघि बढाउने भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तरुढ दलको बैठकमा अध्यादेशलाई नियमित विधेयका रुपमा अघि बढाउन दलहरू सहमत भएका हुन् ।

अध्यादेश अगाडि बढ्ने स्थिति नबनेपछि नियमित विधेयकका रुपमा अघि बढाउने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

उनले भने,’भूमिसम्बन्धी अध्यादेश अध्यादेशको रुपमा जानसक्ने अवस्था रहेन । आज १३ गते भयो । १८ गतेभित्र प्रमाणीकरण भइसक्नुपर्ने हो । यो अध्यादेशको रुपमा अगाडि जानसक्ने अवस्था रहेन । यसैले यो विधेयकलाई नियमित विधेयकमा लैजान दलहरूबीच सहमत भएको छ ।’

राष्ट्रिय सभाबाट भूमिसम्बन्धी अध्यादेश पारित हुने अवस्था नभएपछि सरकार पछि हटेको हो । जसपा नेपालले साथ नदिँदा राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत हुन सकेन ।

राष्ट्रिय सभामा सत्तारूढ कांग्रेसका १६ र एमालेका ११ (एक मनोनीतसहित) गरी २७ सांसद मात्रै छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमत पुर्‍याउन थप तीन सिट चाहिन्छ, जुन जसपा नेपालसँग छ ।