पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरूकता तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
‘केही दिनअघि जनप्रर्दशनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लाग्यो,’ उनले भनेका छन् । नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद नहुने पनि उनको भनाइ छ ।
‘समाजका विभिन्न दल र वर्ग समुदायले आफ्ना धारणा र अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर त्यस्ता धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्दछ ।’
उनले वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताए । उनले भने, ‘नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रोरनराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ ।’ शाहले नेपाली जनतामा देशभक्ति भावना विश्वमै अनुकरणीय रहेको दाबी गरे ।
गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा एक जना पत्रकार र एक जना सर्वसाधारणको ज्यान गएको थियो । राजावादीको आन्दोलनमा व्यक्तिका घर, पसल, अन्नपूर्ण पोष्ट् र कान्तिपुरको कार्यालय, राजनीतिक दलका कार्यालय, सरकारी र निजी सवारीसाधनलगायतका व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीजस्ता कार्य भएका थिए ।















