सरकारले तोकेअनुसार पारिश्रमिक नपाएको भन्दै डाक्टरहरुको प्रदर्शन (भिडियो)

Image

सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै निजि मेडिकल कलेजका आवासीय डाक्टरहरुले बुधबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।

आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रीपरिषद्बाटै भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरुले बुधबार काठमाडौँको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।

त्यस्तै आवासीय डाक्टरहरुले आयोगले आठौँ तहको तलब संरचना पारित गरेको दुई महिना बढि हुँदा पनि मेडिकल कलेजहरुले निर्देशनको पालना गरेकाले आन्दोलनमा उत्रनुपरेको जनाएका छन् ।

उनीहरुले कलेज प्रशासनको योजनाबद्ध वेवास्ताले आफ्ना अधिकार सुनिश्चित गर्न प्रदर्शनमा आउनुपरेको जनाएका छन् । आफ्ना मागहरुमा सरोकारवाला निकायले गम्भिरता नदेखाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी आवासीय डाक्टरहरुले दिएका छन् ।