राष्ट्र बैंकको गर्भनर पनि काँग्रेसले पाएपछि गठबन्धनको अर्को खुडकिलो टर्यो

Image

सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा देखिएको पछिल्लो संकट पनि तत्काललाई टरेको छ ।

बुधबार काँग्रेस र एमाले सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैंठकमा गर्भनर नियुक्तीको विषयमा पनि काँग्रेसको प्रस्ताव अक्षरस मान्ने प्रतिवद्धतापछि गठबन्धनमा देखिएको पछिल्लो संकट टरेको हो ।

गर्भनर नियुक्तीको विषयमा प्रधानमन्त्रीले आफ्नो कुरा पनि राखेपछि टुटनै लागेको गठबन्धन प्रधानमन्त्रीले आफ्नो कुरा फिर्ता लिएर काँग्रेसकै प्रस्तावमा निर्णय गराउने निश्चित गरेपछि जोगिएको बुझिएको छ । ओली नेतृत्वको गठबन्धन सरकार बनेपछि नेपाल टेलिकमको एमडी,प्रहरी प्रमुख, नेप्सेको सिईओ, बिमा प्राधिकरणको अध्यक्ष, बिद्युत प्राधिरणको एमडी हुदै हरेक ससाना नियुक्तीमा समेत नेपाली काँग्रेसको प्रस्तावबाहेकमा छलफलमात्रै हुदाँ पनि संकटमा पर्ने र काँग्रेसकै प्रस्ताव मानेपछि जोगिने गरेको गठबन्धन गर्भनर नियुक्तीमा पनि डिलैमा पुगेर जोगिएको छ ।

त्यसो त बजारमा सरकार ढल्ने चर्चा चलिरहेका बेला गठबन्धनका शिर्ष नेता केपी शर्मा ओली र शेर बहादुर देउवाले गर्भनरका विषयमा सहमति गरिसकेकाले गठबन्धनमा कुनै समस्या नआउने सरकारका प्रवक्ता एवं संचारमन्त्री पृथ्वीसुव्बा गुरुङले यसअघि नै सुनाएका थिए । औपचारिक रुपमा भने बुधबार बसेको संयन्त्रको बैठकबाट टुग्गिएको हो ।

सम्भवतः अब नेपाल राष्ट्र बैंकको गर्भनर नेपाली काँग्रेस निकटका सुदुरपश्चिमका गुणकर भट्ट हुनेछन । हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका भट्टलाई नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन ।

पछिल्लो पटक नेपाली काँग्रेसले भट्टसहित अन्य तीनजना बाहेक गर्भनर बन्न नसक्ने अडान लिदै आएपनि प्रधानमन्त्री ओलीले भने अन्य सबै नियुक्ती काँग्रेसलाई दिएकाले एउटा गर्भनरका लागि विचार गरिदिन नेपाली काँग्रेससँग आग्रह गरेका थिए । ओलीको आग्रहपछि काँग्रेसले आफुले भनेकै मान्छे गर्भनर नबनाउँने हो भने सरकार छाड्न सकिने चेतावनी दिएको सुचना पाएपछि प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार ढल्न लागेको सुचना पाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । प्रचण्डले गठबन्धन भत्किन लागेको अभिव्यक्ति दिएपछि पेचिलो बनेको काँग्रेसका सबै प्रस्ताव निशर्त स्विकार गरेरै भएपनि गठबन्धन जोगाउने तयारी थालेको थियो ।
सोही अनुसार मंगलबार बिहान प्रधानमन्त्री ओलीको आग्रहमा र देउवासँग बालुवाटारमा एकान्त–वार्ता भएको थियो। देउवानिकट अर्का एक नेताका अनुसार, सोही भेटमा ओलीले सरकार जोगाउन आफुले निशर्त सबै प्रस्ताव मान्ने पक्षमा रहेको सुनाएपछि देउवाले ओलीसमक्ष गभर्नरको नाम प्रस्ताव गरेका थिए।

ओलीले देउवाले प्रस्ताव गरेको नाम नै अन्तिम निर्णय हुने प्रतिवद्धतापछि गठबन्धनमा कुनै समस्या नआउने गरि अघि बढ्न दुवै दल सहमत भएका छन । यो सहमतिपछि भट्टसहित तीन जनाको नाम अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मन्त्रिपरिषद्मा पेस गरेपछि गभर्नर नियुक्तिको औपचारिक निर्णय हुनेछ।

गर्भनर सिफारित समितिका सदस्य डा विश्व पौडेल भारत भ्रमणमा छन् र उनी शनिबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ। त्यसैले सम्भवतः सोमबार मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीले गभर्नरका लागि तीन जनाको नाम प्रस्ताव गर्नेछन्। र, सोही बैठकले भट्टलाई नियुक्त गर्नेछ।

गभर्नर बन्ने पक्का भएपछि भट्टले मन्त्रिपरिषदमा नाम जानुअघि राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा गर्न सक्नेछन्।

कांग्रेस सभापति देउवा उपचारको क्रममा आइतबार सिंगापुर जाने कार्यक्रम छ। सिंगापुर जानुअघि देउवा गभर्नरको नाम टुङ्ग्याउन चाहन्थे। सोही अनुसार बुधबार सहमति जुटेको कांग्रेसका ती नेताले बताए।

यसअघि मन्त्रीस्तरीय साना नियुक्तीमा समेत देउवासहित पत्नी आरजु राणालाई सोधेर मात्रै निर्णय लिन एमालेका मन्त्रीहरुलाई समेत निर्देशन दिने गरेका प्रधानमन्त्री ओलीले राजनीतिक रुपमा नेपाली काँग्रेसकै भएपनि प्रधानमन्त्रीपत्नी निकटकी हाल कायममुकायम रहेकी डेपुटी गभर्नर नीलम ढुंगानालाई नै गभर्नर बनाउने रहर गरेपछि काँग्रेसले गठबन्धन भत्काउने तर ओलीको रहर पुरा नहुने अडान राख्दै यसअघि पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर बसेका ज्ञानेन्द्र ढुंगाना र राष्ट्र बैंककै सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे मध्ये एकजनाबाहेक सोच्न नसकिने जवाफ दिएको थियो ।

काँग्रेसले अघि सारेका क्षेत्री र पाण्डे सर्वोच्च अदालतको आदेशका कारण प्रतिस्पर्धाबाट बाहिरिएपछि देउवाले गुणकर भट्टलाई गर्भनर बनाउँन तयार भएका हुन ।