धनुषामा विष सेवनबाट तीन छोराछोरीको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर रहेको छ ।
धनुषाको सहिदनगर नगरपालिका-५ बासुदेपट्टी बस्ने सुशीलकुमार साहकी २५ वर्षीया पत्नी बबिताकुमारी साहले सोमबार साँझ ८ वर्षीय छोरा अदित्य साह, ५ वर्षीया छोरी कृति साह र ३ वर्षीया छोरी प्रीतिकुमारी साहलाई विष खुवाएर आफूले पनि सेवन गरेकी थिइन् ।
बबिताको गर्भ समेत रहेको धनुषा प्रहरीले जनाएको छ । गर्भमा रहेको बच्चालाई शल्यक्रिया मार्फत निकालिएको छ । सुत्केरी हुने समय भएकोले गर्भमा रहेको बच्चालाई शल्यक्रिया मार्फत निकालिएको र अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ ।
विष सेवनबाट अवस्था गम्भीर भएको परिवारले थाहा पाएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएका थिए । उपचारका क्रममा बच्चाहरूलाई चिकित्सकले मृत घोषित गरेका थिए भने गम्भीर अवस्थामा रहेकी बबिताको उपचार जनकपुरकै रामजानकी अस्पतालमा भैरहेको छ ।
घरायसी विवादका कारण बबिताले छोराछोरीलाई खानामा विष मिसाएर खुवाएको र आफूले पनि खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको धनुषा प्रहरीले जनाइएको छ । यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले रौतहटले जनाएको छ ।













