काठमाडौँ टावर निर्माणमा अर्बौँको नीतिगत भ्रष्टाचार भएको बालेनको आरोप

Image

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले पुरानो बसपार्कमा निर्माणाधीन व्यावसायिक कम्प्लेक्स (काठामाडौं टावर) मा अनियमितता र नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले यो प्रकरणले महानगरलाई एक अर्बभन्दा बढी आर्थिक क्षति हुने र ठेकेदारलाई अर्बौँको फाइदा हुने तथ्य उल्लेख गरेका छन् । यो प्रक्रियामा कर्मचारी, जनप्रतिनिधि र ठेकेदारबीच मिलेमतो भएको हुन सक्ने प्रमुख शाहको आरोप छ ।

मेयर शाहका अनुसार, २०७३ मा १२ तलासम्मको स्वीकृति दिँदा तत्कालीन महानगर नेतृत्वले न्यून आर्थिक लाभ हुने गरी सम्झौता गरेको थियो।

सम्झौताअनुसार चौथो वर्षसम्म वार्षिक ९८.३३ लाख र ३०औँ वर्षमा ३.९० करोड रुपैयाँ मात्र महानगरले प्राप्त गर्ने उल्लेख छ । तर, १२ तलालाई १९ तला बनाउँदा थप ७ तलाको क्षेत्रफल १.२८ लाख वर्गफुट हुन्छ। जसबाट वार्षिक २३ करोडभन्दा बढी भाडा आउनुपर्ने उनको दाबी छ ।

‘३० वर्षमा प्रतिवर्गफुट भाडा ६७० रुपैयाँ पुग्छ, जसबाट थप ७ तलाले मात्रै एक अर्बभन्दा बढी आम्दानी गर्नुपर्ने हो, तर सम्झौताअनुसार महानगरले ३ करोड मात्र पाउँछ, जसले ठेकेदारलाई अर्बौँ फाइदा हुन्छ’, उनले भनेका छन् ।

शाहले भवन निर्माणमा धेरै अनियमितता र अवैधानिक काम भएको पनि बताए । उनका अनुसार, काठमाडौं उपत्यका विकास प्राधिकरणले २०७२ मा १२ तलाभन्दा माथि नजाने गरी अनुमति दिएको थियो ।

तर, १९ तला बनाउँदा प्राधिकरणको राय र वातावरणीय प्रभाव मूल्याङ्कन नलिई नक्सापास गरिएको छ । ‘स्ट्रक्चरल इन्जिनियरको हैसियतले मैले हेर्दा NBC 105:2020 मापदण्डअनुसार १९ तलाको डिजाइनमा ७०% भन्दा बढी column fail हुन्छ,’ उनले भनेका छन् ।

उनले नक्सापास प्रक्रियामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गम्भीर त्रुटि गरेको आरोप लगाए । ‘आधिकारिक EBPS प्रणालीबिना, विभागीय प्रमुखलाई जानकारी नदिई गुरागाईँले हाजिर भएको दोस्रो दिनमै नक्सापास गरे,’ शाहले भने, ‘यो नीतिगत भ्रष्टाचारको अंश हो ।’

उनले गुरागाईँलाई सरकारले विशेष ‘म्यान्डेट’ दिएर पठाएको हुन सक्ने आशङ्का पनि व्यक्त गरे । मेयर शाहले यो प्रकरणमा छानबिनका लागि सम्बन्धित निकायलाई सहयोग गर्न तयार रहेको बताए ।

‘महानगरको आधिकारिक प्रणालीमा अहिलेसम्म नक्सापास भएको छैन, यो कागजलाई मान्यता दिँदैनौँ,’ उनले भने, ‘हिल्टनको नक्सापास पनि गुरागाईँले त्यही दिन गरेको रहेछ, यसको पनि छानबिन हुँदैछ ।’

उनले अनियमितता देख्ने जोसुकैलाई महानगरमा सूचना दिन आह्वान गर्दै परिचय गोप्य राख्ने प्रतिबद्धता जनाए । लोकतन्त्र दिवसको अवसरमा शाहले भ्रष्टाचाररहित समाजको शुभकामना व्यक्त गरेका छन् ।