राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनको क्रममा भएको भाटभटेनी लुटपाटको घटनामा कांग्रेस सहमहामन्त्रीकै छोरो पनि भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले भाटभटेनी लुटपाटमा सहमहामन्त्रीकै छोरो भएपछि गृहमन्त्रीले हतार हतार छोडेको बताएका हुन् । उनले लुटपाटमा गएका तपाईंकै पार्टीका सहमहामन्त्रीको छोरोलाई किन छोडियो भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।
उनले भने, ‘हामीसँग रेकर्ड छ, भाटभटेनीको लुटपाटमा गृहमन्त्रीकै पार्टीको सहमहामन्त्री कै छोरा पक्राउ परे । किन छोड्नु भो तुरुन्तै ? तपाईंका नेताको छोराले रक्सी लिएर गयो । उसले ल्याएको मान्छेले म रक्सी खान्न कपडा लान्छु भनेर कपडा लिएर गयो । पुलिसले भिडियोमा हेरेर पक्रियो पछि नेताको छोरा परे । नेताको छोरालाई छोड्नु भो ल्याएको मान्छेलाई छोडिएन । पछि यो कुरा बाहिर ल्याउँछु भनेपछि सबैलाई छोड्नु भो ।’