सत्तारुढ दल नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई कारबाहीको माग गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा गैरेले शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवका नाममा जारी भएको संवेदना सन्देशप्रति आपत्ति जनाएका हुन् ।
सांसद गैरेका अनुसार शनिबार संवाद सचिवको रुपमा पाठकले संवेदना वक्तव्य जारी गरेका थिए । उक्त वक्तव्यमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश’ लेखिएको भनेर उनले सरकारको ध्यानाकर्षण गरे ।
‘संवाद सचिव फणिन्द्र पाठकको नामबाट राजी भएको वक्तव्यको हेडलाइनमा लेखिएको छ( श्री पाँच महाराजधिराज वीर विक्रम शाह देवबाट बक्सेको शुभकामना सन्देश यसप्रति म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । नेपालको संविधान र नेपालको आजको व्यवस्थामा श्री पाँच महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव भन्ने कहाँ छ ? यो लेख्न कसरी सकिन्छ ? कसरी सम्भव भयो ? यो पाइन्छ कि पाइँदैन ? यो संसदको सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राजको उपहास गर्न पाइन्छ कि पाइँदैन ?,’ उनले भने ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा यस्तो लेख्न नपाइने उनको आग्रह छ । पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सांसद गैरेको आग्रह छ ।
‘यो संवाद सचिवको रुपमा नाम रहेका डा. फणिन्द्रराज पाठक र संवेदना लेख्नका लागि बक्सिने ज्ञानेन्द्र विरविक्रम शाहलाई नेपालको संविधान र कानुन तत्काल कारबाही गरियोस् भन्ने् कुरा यो सदनमार्फत ध्यानाकर्षण गर्न चाहन्छु’, उनले भने ।