लिङ्देनको अभिव्यक्तिप्रति कांग्रेसले संसदमा खोज्यो जवाफ (भिडियो)

Image

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रति नेपाली कांग्रेसले आक्रोश व्यक्त गरेको छ ।

गत संसद बैठकमा राप्रपा अध्यक्ष लिङ्देनले कांग्रेस सहमहामन्त्रीका छोराले भाटभटेनीबाट रक्सी चोरेको र तीनलाई प्रहरीले समातेर छाडेको भन्ने अभिव्यक्ति प्रति कांग्रेसले आज संसदमा जवाफ मागेको हो ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन्? त्यो राप्रपा अध्यक्ष लिङ्देनले प्रमाणित गर्नुपर्ने धारणा राखेका छन् ।

‘नेपाली कांग्रेसका कुन चाँही सहमहामन्त्रीको कुन चाँही छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ, होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ,’ प्रमुख सचेतक घिमिरेले भने ।

लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको जनाए पनि नाम भने उल्लेख गरेका थिएनन् ।