पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका छन् ।
सोमबार पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालसहित एकीकृत समाजवादीका पदाधिकारीहरू बबरमहलस्थित सडकमा जारी शिक्षक आन्दोलनमा पुगेका हुन् ।
उनीहरूलाई आन्दोलनरत शिक्षकहरूले आफूहरूको आन्दोलनमा सहभागी नहुन भन्दै उल्टै नाराबाजी गरे । आन्दोलनमा सहभागी केही शिक्षकहरूले भने आन्दोलनमा आउनभन्दा पनि संसदमै भूमिका खेल्न भन्दै उल्टै नाराबाजी गर्न थाले ।
‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरू कराएपछि नेताहरू लज्जित भएर फर्किनु परेको थियो । फर्किने क्रममा उनीहरूलाई प्रहरीले गाडीसम्म स्कर्टिङ गर्यो ।
बाहिरने क्रममा अध्यक्ष नेपालले भनेका छन्, ‘अरु केही भन्दिनँ, यो आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ ।’
नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौँकेन्द्रित आन्दोलन गरिरहेका छन् । आन्दोलनको आज २७ औं दिन हो ।














