जब उज्यालो हुन्छ बिहानको सूर्योदयसँगै सुरु हुन्छ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकको दौडधुप । कहिले बागलुङ, कहिले तनहुँ, कहिले गोरखा, त कहिले स्याङ्जा, जिल्ला- जिल्लाका अस्पताल र जनताका घरदैलोमा उनको पाइला पुग्छ। यात्रामा स्वास्थ्यकर्मीका गुनासा सुनिरहेका हुन्छन्, सेवाग्राहीका समस्या टिपिरहेका हुन्छन्, र विशेषज्ञसँग बसेर जनताका लागि प्रभावकारी स्वास्थ्य सेवा दिन निर्देशन दिइरहेका हुन्छन् उनी ।
दिन चढ्दै जाँदा, कहिले प्रदेश मातहतका कार्यालयमा छलफल, कहिले सङ्घीय सरकारका मन्त्रालय र नीतिनिर्मातासँग योजना मिलाउने दौडमा मन्त्री पाठकका दिनचर्या बित्ने गरेका छन् । रातीको थकान पनि भोलिपल्ट फेरि उस्तै ऊर्जा लिएर दौडन तयार हुन्छन् पाठक । ‘ म जनताको सेवक हुँ,पाएको जिम्मेवारीलाई जनताको हितमा भरपुर प्रयोग गर्ने सङ्कल्पले हिँडेको छु’, पाठक मुस्काउँदै भन्छन्, ‘मेरै कार्यकालमा गण्डकी प्रदेशको स्वास्थ्य सेवालाई देखिने गरी सुधार्ने र जनताले परिवर्तनको महसुस गर्ने बनाउनुपर्नेछ ।’

त्यसो त सङ्घीयताको मर्म अनुसार काम नगर्दा नेपालमा पछिल्लो समय प्रदेश सरकारहरू सेतो हात्ती जस्तै भएको टिप्पणी चोक चोक र चौतारामा हुने गरेका छन् । राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी त विदेशीले थोपरेको प्रदेश संरचना खारेज गरिनुपर्छ भन्छन्। प्रदेश संरचनामार्फत जनताले गरेका अपेक्षा पुरा नभइरहेको सन्द्धर्भमा उनको यो भनाइमा थप बल पुगेको छ । उनिमात्रै होइन पछिल्लो समय काँग्रेस र एमालेकै कतिपय नेताहरूले पनि प्रदेश सरकार राज्य कोषका बोझ मात्रै भएको टिप्पणी गरेका छन् ।
तर, गण्डकी प्रदेशमा भने स्वास्थ्यमन्त्री कृष्ण पाठकको छोटो कार्यकाल नै जनतामा प्रदेशप्रति बढेको निराशा आशामा बदल्ने बुटी बनेर आउने सङ्केत देखिन थालेका छन् । पाठकको सक्रियताले पोखराका सरकारी अस्पताल मात्रै होइन बागलुङ, तनहुँ, र लमजुङका अस्पतालमा बिरामीले भोग्ने गरेका समस्या हटेका छन् । सेवा सञ्चालनमा भएका सुधारले बिरामीले घण्टौँ कुर्नुपर्ने अवस्था घटेको छ । अस्पतालमा हाजिर गरेर निजीमा जाँच्न पुग्ने चिकित्सक फेरिएका छन् । ज्येष्ठ नागरिक र सुत्केरी सेवामा विशेष ध्यान दिने र स्वास्थ्यकर्मीलाई बिरामीको सेवामा जिम्मेवार बनाउने प्रयासले जनताको मन छुन थालेको छ।
पोखराको गण्डकी अस्पतालमा उपचारका लागि आएकी तनहुँकी कल्पना आचार्य भन्छिन्, ‘अस्पताल त अहिले पुरै फेरिएको रहेछ ।’ पहिले जस्तै चर्को भीड नभएको बताउने उनी समयमै चिकित्सक भेटदाँ र अस्पातलभित्रैको फार्मेसीबाट औषधी पाएकोमा दङ्ग देखिइन । त्यसो त यसअघिका मन्त्रीको नाम सुन्ने र फोटो मात्रै देख्ने गरेका स्वास्थ्यकर्मी हप्ता जसो अस्पतालमै आएर स्वास्थ्यकर्मी र बिरामीका कुरा सुन्ने तथा जुम मिटिङ राखेरै भएपनि दैनिक रिपोर्टिङ माग्ने मन्त्री पाएकोमा खुसी छन् । प्रादेशिक अस्पताल कुश्मा पर्वतका मेडिकल अधिकृत डा. कुशल अधिकारी मन्त्रीले हरेक स-साना अस्पतालसम्म चासो देखाइदिँदा स्वास्थ्यकर्मीहरूको मनोबल बढेको बताउँछन् । यो सक्रियतासँगै अस्पतालको दीर्घकालीन पूर्वाधार विकास र स्रोत साधनको उपलब्धतालाई बढाउँदा स्वास्थ्य सेवा प्रभावकारी हुने डा. अधिकारीको बुझाई छ ।
स्वास्थ्य क्षेत्रमा देखिने र सेवाग्राहीले अनुभूति गर्ने स-साना कामसँगै दीर्घकालीन महत्वका योजना र पूर्वाधारमा पनि मन्त्री पाठकले महत्त्वपूर्ण काम गरेका छन् । ८ महिना अघि प्रदेश मन्त्रीको जिम्मेवारीमा पुगेका पाठकले गण्डकी प्रदेशका २५ बढी अस्पतालको आकस्मिक सेवा सुदृढीकरण,११ जिल्लाका २५ स्वास्थ्य संस्थामा डिजिटल रेकर्ड प्रणाली,१० वटा सामुदायिक अस्पतालमा ल्याब सेवा विस्तार, ६ वटा स्थानीय तहमा नयाँ ‘हेल्थ पोस्ट’ स्थापनाको योजना अघि बढाएका छन् । यो सँगै ज्येष्ठ नागरिकका लागि ‘घरमै स्वास्थ्य परीक्षण’ कार्यक्रम पनि परीक्षणका रूपमा सुरु हुदैछ । यससँगै प्रदेशको स्वास्थ्य क्षेत्रमा आन्तरिक बजेट वृद्धि गर्नेदेखि सङ्घीय सरकारमार्फत हुने स्वास्थ्य कार्यक्रममा पनि गण्डकी प्रदेशलाई प्राथमिकतामा राख्न सङ्घीय सरकारका विभिन्न निकायसँग भेटघाट, छलफल र दबाब दिँदै आएका छन् ।
एउटै दलको स्पष्ट बहुमत नहुँदा बन्ने गठबन्धन सरकार बन्ने र ढल्ने क्रम चलिरहेको छ । मन्त्री बनेको ८ महिनामै देखिने गरि परिवर्तनको महसुस गराएका पाठकले आफ्नै कार्यकालमा धेरै गर्ने योजना बनाएका छन् । तर, छोटो समयमा आफ्नो चाहाना र सक्रियताले मात्रै अपेक्षित काम गर्न सजिलो नभएको पाठकको अनुभव छ । गठबन्धन सरकारमा हुँदा आफुले गर्ने काममा सत्ता साझेदार दलका नेताहरूको भूमिका,विद्यमान कानुनी जटिलतासँगै कतिपय अवस्थामा कार्यरत कर्मचारीले गर्ने ढिलासुस्तीले पनि अप्ठ्यारो पार्ने गरेको सुनाए । एकतर्फ प्रदेशमा पर्याप्त स्रोत साधनको अभाव हुनु । अर्कोतर्फ, भएका स्रोतसाधनको उपयोगमा पनि विद्यमान कानुनी तथा नीतिगत जटिलताले छरितो र प्रभावकारी कार्यान्वयनमा समस्या भएको मन्त्री पाठकले सुनाए ।
यसलाई सहज बनाउनकै लागि उनले सङ्घीय सरकारसँग सार्वजनिक खरिद प्रक्रिया सरल पार्न र प्रदेश सरकारको अधिकार बढाउन अहिले पनि निरन्तर संवाद गरिरहेको बताउँछन् । गण्डकी प्रदेशमा मन्त्री पाठकको सक्रियता देखेर अब स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सेवाग्राहीबिच प्रदेश सरकारप्रति नयाँ आशा पलाउन थालेको छ।
जनस्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख घनश्याम सापकोटा भन्छन्, ‘पहिलो पटक प्रदेश सरकारले स्वास्थ्य सेवा जस्तो छिटो प्रभाव देखिने क्षेत्रमा प्रभावकारी कदम चालेको देखिन्छ, यसले प्रदेशको औचित्यप्रति जनताको विश्वास बढाउन सक्छ।’
जनस्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी सुदिप कँडेलले अहिले प्रदेशले स्वास्थ्यमा भनेजस्तो काम गर्न थालेको सुनाए । मन्त्रीको सक्रियताको प्रशंसा गर्दे यसले सङ्घीयता विरोधी आवाजलाई कमजोर पार्न र सङ्घीयतालाई बलियो बनाउने कँडेलको भनाई छ ।















