तीनकुने घटना सरकारकै कारण घटेको हो: नवराज सुवेदी (भिडियो)

Image

राजतन्त्र र हिन्दु राष्ट्र फर्काउने उद्देश्यले गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले तीनकुने घटना सरकारकै कदमले भएको दाबी गरेका छन् ।

सोमबार कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौँमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै सुवेदीले यस्तो दाबी गरेका हुन् ।

‘एक महिना अगाडि तीनकुने जुन घटना घट्यो, त्यो निर्दयी, त्यो क्रूर, त्यो तानाशाही सरकारको कदम थियो,’ सुवेदीले भने, ‘कार्यक्रम सुरु हुनुअघि राष्ट्रिय गान बजाइरहेको थियो त्यहाँ अन्धाधुन्ध गोली चलाइयो, अश्रु ग्यास प्रहार गरियो, आदि इत्यादि गरियो । त्यो दुनियाँका अगाडि थाहा छ ।’

त्यो बेला राजावादीहरूलाई अत्याचारी देखाउन खोजिएको सुवेदीले बताए । उनले भने, ‘त्यो बेलामा हामी राजावादीहरूलाई अत्याचार गरे भनेर देखाउन खोजियो । तर हिजो शिक्षकहरुकोमा त्यही कुराको पुष्टि भयो कति अत्याचारी यो सरकार छ ।’

संयुक्त जनआन्दोलन समितिले गत चैत १५ गते तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । सोही घटनालाई लिएर सुवेदीले सोमबार सरकार तानशाही बनेको आरोप लगाएका हुन् ।

सुवेदीले राजावादी टुटफुट नभएको दाबी पनि गरे । राजवादी र हिन्दुवादी सबै एक भएको उनले जनाए ।