जापानबाट फर्किएका युवाको नेतृत्वमा कमलपोखरीको ‘मार्कोपोलो होटल’ नयाँ स्वरूपमा संचालन

Image

लामो समयदेखि काठमाडौंको कमलपोखरीमा संचालनमा रहेको ‘मार्कोपोलो बिजनेस होटल’ अब नयाँ व्यवस्थापनसहित ‘मार्कोपोलो होटल’को नाममा संचालनमा आउन लागेको छ ।

जापानमा रहँदा आर्जन गरेको सीप, अनुभव र पूँजीलाई स्वदेशमा लगानी गर्ने उदेश्यसहित फर्किएका युवाहरूको नेतृत्वमा होटल संचालन हुन लागेको हो । इन्द्रेणी मल्टिपर्पोज प्रालिको ७ करोड लगानीमा होटलको स्तरोनन्तिको काम सम्पन्न भएसँगै बुधबारदेखि सेवा सञ्चालन हुँदैछ ।

नयाँ व्यवस्थापनले होटलको भौतिक संरचना, सेवा सुविधा र खानपानमा व्यापक सुधार गर्दै आधुनिक प्रविधियुक्त होटलको अवधारणा अघि सारेको छ । होटलका निर्देशक कृष्ण सुवेदीले पाहुनालाई नयाँ अनुभव हुनेगरी होटल रूम, रेष्टुरेन्ट र बैठक कक्ष तयार भएको जानकारी दिए ।

स्वच्छ, शान्त र पारिवारिक वातावरणमा बस्न चाहने ग्राहकका लागि उपयुक्त हुने गरी होटललाई ४ प्रकारका ३० वटा अत्याधुनिक तथा सुविधायुक्त कोठाहरूसहित डिजाइन गरिएको छ । होटलमा ४ हजारदेखि ८ हजारसम्मका डिलक्स तथा स्विटरूमहरूमा मध्ययवर्गीय नेपाली तथा विदेशी पर्यटकले उत्कृष्ट अनुभव गर्नेछन् ।

काठमाडौं शहरको सुन्दर दृश्यावलोकनसहित स्वादिष्ट खानाका परिकार पाईने रुफटप रेष्टुरेन्ट मार्कोपोलो होटलको विशेष आकर्षण हुनेछ । होटलमा ६० जना क्षमताको सभाहल समेत बनेको छ । बैठक तथा सेमीनारका लागि उपयुक्त डिजाईनमा बनेको हलमा ग्राहकले ५० देखि ६० जनासम्म सहभागी हुने उत्सवका लागि समेत प्रयोग गर्न सक्नेछन् ।

आकर्षक ग्रिनरी डिजाईनमा तयार पारिएको रूफटप रेष्टुरेन्टमा नेपाली परिकारसँगै इण्डियन, जापनिज र कन्टिनेन्टल परिकारहरु उपलब्ध हुनेछन् । ग्राहकको रूचिका आधारमा विदेशी तथा स्वदेशी पाहुनालाई ध्यानमा राखेर मेनु तयार गरिएको निर्देशक सुवेदीको भनाई छ ।

ईन्द्रेणी मल्ट्रीप्रपोज प्रा. लि. ले पहिलो चरणमा काठमाडौंबाट सेवा थालेपनि यसलाई विस्तार गर्दै देशका अन्य शहरमा पनि लैजाने तयारी छ । होटलले काठमाडौंको सेवा औपचारिक रूपमा थालेपछि पर्यटकीय नगरी पोखरामा पनि काम थाल्ने योजना बनाएको निर्देशक सुवेदीले टिभी अन्नपूर्णलाई जानकारी दिए ।