हेटौंडामा सडक भासिएर पिकअप भ्यान गायब भएको छ । हेटौंडाको उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँको भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी सडक भासिँदा हराएको हो । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ ।
गाडीका चालक र सहचालकले भने गाडी धसिनुअघि नै निस्किएर जोगिएका छन् । घटना शुक्रबार दिउँसोको हो । गाडी भासिएको करिब ५ सेकेण्डमै गाडी हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी डुबेको नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ पनि रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । बोरिङ पनि धसिएको छ ।
पानीमा गाडीको भाग नदेखिएको प्रहरीले जनाएको छ । हाल डाइभर्सन बनाएर पानी कटाउने काम भइरहेको र गाडीको खोजी कार्य जारी रहेको मकवानपुर प्रहरीको भनाइ छ।















