पाकिस्तानसँगको द्वन्द्व चर्किइरहेका बेला भारत सरकारले त्यहाँको महत्त्वपूर्ण अनलाइन सञ्चार माध्यम ‘द वायर’लाई ब्लक गरेको छ ।
‘द वायर’ले शुक्रबार एक वक्तव्य जारी गर्दै भारतभर thewire.in को पहुँचमा अवरुद्ध गरेको जनाएको छ । आईटी कानुन-२००० अनुसार सूचना मन्त्रालयको आदेशअनुसार ‘द वायर’ ब्लक गरिएको इन्टरनेट सेवा प्रदायक कम्पीनले जनाएको वक्तव्यमा जनाइएको छ ।
द वायरले सामाजिक सञ्जाल एक्समा सूचना जारी गर्दै सरकारको यो कदमलाई संविधानले दिएको प्रेस स्वतन्त्रताको उल्लंघन भनेको छ । ‘ यस्तो महत्त्वपूर्ण समयमा सत्यनिष्ठ, निष्पक्ष र तर्कसंगत आवाज, समाचार र सूचनाको स्रोत भारतको सबैभन्दा ठूलो सम्पत्ति हो । हामी यस्तो सेन्सरसिपको विरोध गर्छौँ ।’ सरकारको कारबाहीप्रति आफूहरूले अदालतमा चुनौती दिने पनि वायरले जनाएको छ ।
भारतीय अखबार द हिन्दुका पूर्वसम्पादक सिद्धार्थ वरदराजन, सिद्धार्थ भाटिया र एमके वेणुलगायत मिलेर सन् २०१५ मा वायरको स्थापना गरेका थिए ।
भारतमा सरकारबाट स्वतन्त्र रहेका सीमित समाचार संस्थाहरूमध्ये गनिने वायरविरुद्ध विभिन्न व्यवसायी, राजनीतिज्ञ लगायतले मानहानीका थुप्रै मुद्दाहरू दायर गरेका छन् ।














