प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको खोजी गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नदेखिएपछि ओलीले खोजी गरेका हुन् । उक्त बैठकमा मेयर शाह सहभागी नभएर उपमेयर सुनिता डंगोल सहभागी थिइन् ।
बालेनको नाम नलिई प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण कार्यक्रमहरूमा काठमाडौँ महानगरपालिकाको जनप्रतिनिधि सहभागी नहुनु राम्रो नभएको बताए । ‘महत्त्वपूर्ण बैठकहरूमा सहभागी हुनुपर्छ, आगामी दिनमा यस्तो नहोस्,’ प्रधानमन्त्रीले भनेका थिए ।
बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको छ । बैठकले प्रधानमन्त्री ओलीकै संयोजकत्वमा दिवस मूल समारोह समिति गठन गरेको छ ।
समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृत, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू, सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् ।
बैठकले आगामी जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ(संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरेको छ ।
विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिने छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।















