लिङ्देनको चेतावनीः राजा फर्काएरै छाड्छौँ, प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिन्छौँ

Image

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ देखि सुरू हुने आन्दोलनले गणतन्त्र ढाल्ने दाबी गर्दै प्रधानमन्त्रीलाई हेलिकप्टरबाट भाग्ने सुविधा दिने अभिव्यक्ति दिएका छन् ।

राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको मागसहित राप्रपा सहितका राजावादी शक्तिहरूले जेठ १५ देखि ‘निर्णायक आन्दोलन थाल्ने’ बताउँदै आएका छन् ।

गणतन्त्र दिवसकै दिनबाट ‘गणतन्त्र ढाल्ने गरी निर्णायक आन्दोलन थाल्ने’ तयारीका लागि मंगलबार काठमाडौँका सबै स्थानीय तहमा अगुवा कार्यकर्ता भेला आयोजना भएको थियो ।

सोही कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने बताए । अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरू स्थापित गरिने बताए । यस पटकको आन्दोलनलाई टुङ्गोमा पुराएरै छाड्ने भन्दै जिकिर गरे ।

उनले भने, ‘हाम्रै छिमेकमा १९० वर्ष पुरानो ब्रिटिस शासनलाई सत्याग्रहको बाटोबाटै अन्त्य गरिएको थियो । हामी यो गणतन्त्रलाई पनि सत्याग्रहको बाटोबाटै अन्त्य गर्छौँ । अस्ति भर्खरै प्रधानमन्त्रीले संसदमा भन्दै हुनुहुन्थ्यो । प्रधानमन्त्रीले भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो भन्नुभयो । भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने । त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो । लाने हो यसपालि टुंग्याएर छाड्ने हो ।’

उनले जेठ १५ देखिको आन्दोलन शान्तिपूर्ण हुने दाबी पनि गरे । “यसपालिको प्रदर्शन शान्तिपूर्ण हुन्छ । निरन्तर हुन्छ,” उनले भने, “आयोजकको पूर्ण नियन्त्रणमा हुन्छ । हाम्रो प्रदर्शन हिंसात्मक हुँदैन ।”