१३ जनाको मृत्यु हुनेगरी कतारको ग्यास प्लान्टमा भएको विष्फोटमा नेपालीहरु पनि घाइते भएका छन्। घाइते हुनेहरुमा नेपालीसँगैघाना, केन्या, नाइजेरिया, भारत, कतार, पाकिस्तान र बंगलादेशका नागरिक पनि छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सअनुसार विस्फोटमा परी १३ जनाको मृत्यु भएको हो। दोहास्थि भारतीय दूतावासले एक्स अकाउन्टमा एउटा पोष्ट गर्दै मृत्यु हुनेमध्ये १२ जना भारतीय भएको मृत्यु पुष्टि गरेको छ।
दोहा न्यूजका अनुसार मृत्यु हुने अर्का एक जना पाकिस्तानी मूलका हुन्। कतारका उर्जामन्त्री साद अल काबीले पत्रकार सम्मेलन गरी घटना र घाइतेबारे जानकारी दिएका छन्। उनका अनुसार ग्यास प्लान्ट विस्फोटमा परी ६६ जना घाइते भएका छन्। घाइते हुनेमा नेपाली पनि छन्। उनका अनुसार घटनाले स्थानीय निर्यात वा दैनिक जनजीवन कुनै असर पर्ने छैन।
आइतबार राति घटना भए पनि कतारले अहिलेसम्म घाइतेहरुको नाम सार्वजनिक गरेको छैन। कतारस्थित भारतीय दूतावासका अनुसार सबै घाइतेहरुको स्वास्थ्य अवस्था स्थिर छ। कतार सरकारले उपचार भइरहेको जानकारी गराएको छ।
पश्चिम एशिया द्वन्द्वको बेला यसअघि इरानले कतारको उर्जा संरचनामा आक्रमण गर्दा पनि रस लाफान क्षेत्रमा ठूलो क्षति पुगेको थियो। कतारले ग्यास उत्पादन नै रोक्नु् परेको थियो। उर्जामन्त्री साद अल काबीका अनुसार यो घटना आक्रमण होइन, प्राविधिक गढबडीका कारण भएको हो।
‘यो एउटा दुर्घटना हो। कुनै तोडफोड वा शत्रुतापूर्ण कार्य होइन। अत्यावश्यक मर्मतसम्भारका कारण सन् २०२५ डिसेम्बरदेखि प्लान्टको उत्पादन पूर्ण रुपमा बन्द थियो र दुई दिनअघि मात्रै यसलाई पुनः सञ्चालनमा ल्याइएको थियो’, उनले भनेका छन्।















