बजेट तयारीमा कडाइ : अर्थ मन्त्रालय प्रवेशमा रोक

Image

अर्थ मन्त्रालयले बजेट निर्माणलाई ध्यान दिएर मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।

अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार बजेट निर्माणसम्बन्धी सबै पक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले बजेट तयारीको कार्य जारी रहेको उनको भनाइ छ ।

उनले भने, “बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरु जारी छन् । बजेट तयारीलाई व्यवस्थित र योजनबद्धरुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं ।”

उनका अनुसार आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो ।

यही जेठ १५ गते संघीय संसदको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्नेछन् ।