नागढुंगा–नौबिसे सडकको पिप्लामोड खण्ड आजबाट १५ दिन दिउँसो बन्द

Image

नागढुंगा–नौबिसे सडकको पिप्लामोड खण्ड आजबाट १५ दिन बन्द हुने भएको छ । जेठ २५ सम्म बिहान साढे १० बजेबाट दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।

उक्त खण्डमा सडक निर्माण सुधार गर्नुपर्ने भएकाले सवारी आवागमन रोकेर काम गर्न लागिएको नागढुंगा–मुग्लिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।

उक्त अवधिभर सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ । आयोजनाले साना तथा मझौला सवारीसाधनका लागि वैकल्पिक रुटका रुपमा सीतापाईला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक तोकिएको छ । यसअघि पनि उक्त खण्डमा वैशाख २२ देखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो ।

उक्त अवधिमा सबै पुरानो कालोपत्र सडक भत्काइएको र अब सडक बन्द गरेर नयाँ कालोपत्र गरिने प्रमुख ओझाले बताए । आजदेखि काठमाडौंबाट भित्रने सवारी साधनलाई खानीखोलामा रोकेर पहिला ग्राभेल गरेर वेस राख्ने र पानीले समस्या नगरे उक्त अवधिभित्र १.८ किलोमिटरमा सडक कालोपत्र गरेर सकिने उनको दाबी छ ।