सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले यो अवधिमा वार्षिक लक्ष्यको ६८.५८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा १ अर्ब १४ करोड २८ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको बताए । ‘गत वर्षको १० महिनामा ४० अर्ब ३ करोड ८३ लाख ३८ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो,’ उनले भने, ‘गत वर्षको तुलनामा चालु वर्षमा समग्रमा २.८५ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ ।’
कार्यालयले साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड, कात्तिकमा ३ अर्ब ७९ करोड, मङ्सिरमा ३ अर्ब २२ करोड, पुसमा ३ अर्ब ५६ करोड, माघमा ४ अर्ब २९ करोड, फागुनमा ४ अर्ब ६८ करोड, चैतमा ४ अर्ब ५० करोड र वैशाखमा ४ अर्ब ३४ करोड ५२ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो ।













