नेपाल टेलिकममा महिला नेतृत्व : अवसरसँगै आरोपको छाँया

Image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत–सम्भारसम्बन्धी ठेक्कामा अनियमितता भएको दाबी गर्दै १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गर्‍यो। मुद्दा लागेकामध्ये नेपाल टेलिकमकी वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडी पनि छन्। मुद्दा दायर भएसँगै उनी स्वतः निलम्बनमा परेकी छन्।

संगीता पहाडीले करिब तीन दशक टेलिकममै बिताएकी हुन्। सूचना प्रविधिमा प्राविधिक अनुभव भएकी उनी २०८१ साल भदौ २० गते मन्त्रिपरिषद् निर्णयबाट प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन्। त्यसअघि, भ्रष्टाचार मुद्दा लागेका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलको स्थान रिक्त भएपछि उनले करिब एक वर्ष नायब प्रबन्ध निर्देशकको रूपमा कार्यभार सम्हालेकी थिइन्। तर नेतृत्व सम्हालेको एक वर्ष नपुग्दै उनी आफैं पनि ठेक्का प्रक्रियामा अनियमितता गरेको अभियोगमा मुछिएकी छन्।

उनको नियुक्ति प्रक्रिया पनि सरल थिएन। तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले सुरु गरेको नेतृत्व छनोट प्रक्रिया सरकार परिवर्तनसँगै केही समय रोकिएको थियो। नयाँ सरकार आएपछि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रक्रिया अघि बढाएका थिए। अन्ततः १७ प्रतिस्पर्धीलाई पछि पार्दै पहाडी प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन्। उनी नेपाल टेलिकमको दोस्रो महिला प्रमुख हुन्।

नेपाल टेलिकमको पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा कामिनी राजभण्डारी २०७३ असोज ६ गते नियुक्त भएकी थिइन्। तर २०७५ साउन २९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई कार्यकाल नसकिँदै बर्खास्त गर्‍यो।

राजभण्डारीमाथि सेवा विस्तारमा कमजोरी, फोरजी विस्तारमा ढिलाइ, आम्दानीमा गिरावट र कर्मचारी व्यवस्थापनमा कमजोरी जस्ता आरोप लगाइएका थिए। उनको कार्यकालमा टेलिकमको आय करिब १ अर्ब रुपैयाँले घटेको दाबी गर्दै नेतृत्वमाथि प्रश्न उठाइएको थियो। फोरजी विस्तारमा अनियमितता गर्न खोजिएको आरोपसमेत लागेको थियो।

नेपाल टेलिकमजस्तो सार्वजनिक संस्थानमा महिला नेतृत्व पुग्नु ऐतिहासिक अवसर थियो। तर, दुवै महिला प्रबन्ध निर्देशक विवादमा परेर एकजना हटिनु र अर्की निलम्बनमा पर्नुले गम्भीर प्रश्न उठाएको छ — के समस्या नेतृत्वको हो कि संस्थागत संरचनाको ?

नेपाल टेलिकममा महिला नेतृत्वले ऐतिहासिक क्षण त सिर्जना गर्‍यो, तर स्थायित्व र सफलताको दृष्टिले ती अनुभवहरू असफलतामा परिणत भए। यो परिघटनाले नेपालका सार्वजनिक संस्थानहरूमा महिला नेतृत्वका अवसर र चुनौती दुवैलाई प्रतिबिम्बित गर्छ।

नेपाल टेलिकमको दुई महिला प्रबन्ध निर्देशकहरूको कार्यकालले नेतृत्वको अवसर पाए पनि सफल हुन सकेनन् र अन्ततः दुवैजना गम्भीर आरोपमा मुछिए ।