‘बाटुलो जुन’मा अनमोलको अपोजिटमा प्रिन्सी अनुबन्धित

Image

अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘बाटुलो जुन’मा प्रिन्सी खतिवडा अनुबन्धित भएकी छन् । प्रिन्सी अनमोलको अपोजिटमा देखिने भएकी हुन् ।

करिब १५ जनाले अडिसन दिएकोमा प्रिन्सी छनोट भएको निर्माणपक्षले जनाएको छ । प्रिन्सीले हिन्दी सिनेमा ‘सपना’मा अभिनय गरिसकेकी छन् । रिलिज हुन भने बाँकी छ ।

दुई चरणमा छायांकन हुने फिल्मको पहिलो चरणको सुटिङ अर्को सातादेखि चित्लाङबाट सुरु हुनेछ । अंगुर खेतीको दृश्य खिच्दै छायांकन हुन लागेको हो । दोस्रो चरण मनसुनपछि सुरु हुनेछ ।

भुवन केसीले निर्देशन र जिया केसीले निर्माण गर्न लागेको यो फिल्म ग्रामीण परिवेशको कथावस्तुमा निर्माण हुन लागेको हो । पहिलोपटक अनमोल गाउँले भूमिकामा देखिँदैछन् तर, पूरै गाउँलेको भूमिकामा भने अनमोल देखिने छैनन् । यो उनको करिअरकै सबैभन्दा सस्तो बजेटको फिल हुने जनाइएको छ ।

प्रिन्सी र उनकी बहिनी प्रिज्मा खतिवडा टिकटक भिडियोमार्फत चर्चामा आएका हुन् । उनीहरूले कन्टेन्ट क्रिएसनसँगै म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् ।