नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर बजेटमा राखेको ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित हुन नसक्ने चेतावनी दिएका छन् ।
सोमबार प्रतिनिधिसभाको आफ्नै कार्यकक्षमा रहेका देउवाले अर्थमन्त्री विष्णु पौडेललाई फोन गरेर बजेटमा उल्लेख भएको टेक एन्ड पे को व्यवस्था हटाउन भनेका हुन्। ‘यो तत्काल हटाउनू। यो नहटाए बजेट पास हुने अवस्था हुँदैन। यो राम्रो भएन’ देउवाले पौडेललाई भनेका थिए।
उनले ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित हुन समस्या हुने अर्थमन्त्रीलाई बताएका थिए ।
देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि फोन गरेका थिए । ‘तपाईंको जस्तो हुँदैन यहाँ मेरो पार्टीमा त विरोध गर्ने पनि हुन्छन् । यो टेक एन्ड पे को व्यवस्था हटाइएन भने गाह्रो हुने देखियो। यसलाई तत्काल हटाउनुपर्यो अनि मात्रै बजेट पास गरौँ,’ देउवाले प्रधानमन्त्रीलाई भनेका थिए।
टेक एन्ड पे को विषयमा सत्तारुढ दल नेपाली कांग्रेसले निजी क्षेत्रलाई समस्यामा पार्न ल्याइएको भन्दै विरोध गर्दै आइरहेका छन्। बैंकहरूले ‘टेक एन्ड पे’ मा आधारित पीपीए भएका आयोजनामा लगानी नगर्ने भएकाले उनीहरूको लगानीको क्षेत्र साँघुरिनेछ । यसले जलविद्युत् क्षेत्रमा सुरक्षित लगानीको वातावरण खल्बलिनेछ । एक मेगावाट आयोजनामा २–३ वर्षसम्म १०० जनाले रोजगारी पाउँछन् भने निर्माणपछि १० जनाले दीर्घकालीन रोजगारी पाउँछन् ।
‘टेक एन्ड पे’ ले आयोजना निर्माण रोकिने हुँदा ठूलो संख्यामा रोजगारी गुम्ने र बेरोजगारी बढ्ने सम्भावना छ ।















