साउन १६ गते प्रदर्शन हुने फिल्म ‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य र रोजगारीको सिलसिलामा भोग्नुपरेका कठिनाइ देख्न सकिन्छ।
ट्रेलरका केही दृश्यहरू मार्मिक छन्। ति दृश्यले आतङ्कवादीको सामूहिक बन्दी बनाइएका तथा कब्जामा परेका नेपाली कामदारहरूको झल्को दिन्छन्। चलचित्रका अभिनेता प्रमोद चौलागाईँले कब्जामा रहेकै बेला नेपालमा पठाएको भिडिओ सन्देश टेलिभिजनमा प्रसारण समेत भइरहेको देखिन्छ।
ट्रेलर सार्वजनिक भएपश्चात् चलचित्रका निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’लाई हरेक नेपालीको कथा रहेको बताए।
चलचित्रको नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतिकात्मक छ। ‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको मुद्रा हो। यी दुवै नामको संयोजनले नेपाली श्रमिकहरूको लागि मुख्य गन्तव्य मुलुकहरूलाई सङ्केत गर्छ, जहाँबाट लाखौँ नेपालीहरूले आफ्नो परिवारको गुजारा चलाउन र राम्रो भविष्यको खोजीमा काम गरिरहेका छन्।
चलचित्रमा प्रमोद चौलागाईं र निता ढुङ्गानाका साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतको अभिनय छ। चलचित्रको लेखन प्रदीप भारद्वाज ले गरेका हुन्।













