सुदन किराँतीलाई हटाएको भन्दै  उड्डयन प्राधिकरणका महानिर्देशकको दिवाभोज

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सुदन किराँतीको जागिर खाइदिएको भन्दै निवासमै उत्सव मनाएका छन् । कार्यालयमा बिरामी भएको सन्देश पठाएर अधिकारीले बुधबार निवासमै खुसीयाली उत्सव मनाएका हुन । उत्सवमा पर्यटन मन्त्रालयका एकजना सहसचिव समेत सहभागी भएका छन् । सहसचिवसँगै मन्त्रालयका अन्य ३ कर्मचारी र प्राधिकरणका केही कर्मचारीसहित केही निमार्ण व्यवसायीलाई निवासमै बोलाएर महानिर्देशक अधिकारीले खुसीयाली मनाएको प्राधिकरण स्रोतको भनाई छ । अधिकारीको पर्यटनमन्त्री सुदन किराँतीसँग पेचिलो टसल थियो ।

प्राधिकरण अन्त्रगतका विभिन्न आयोजना भएको भ्रष्टाचार र अनियमितताका घटनाका कारण मन्त्री रुष्ट देखिएपछि अधिकारीले किराँतीलाई हटाउन प्रधानमन्त्री पुत्री गङ्गा दाहाललाई समातेका थिए । पोखरा र भैरहवा विमानस्थल बनाउँदा आयोजना प्रमुख भई ठुलो अनियमितता गरेको देखिएपछि किराँतीले यसको छानबिन थालेका थिए । तर, अधिकारीले आफुनिकटसँग प्रधानमन्त्री पुत्री गङ्गाको साथ रहेकाले आफूलाई कसैले हल्लाउन नसक्ने बरु मन्त्री नै बदल्ने बताउँदै आएका थिए । तर, मन्त्री किराँतीले भने बरु मन्त्री पद त्याग्ने प्राधिकरणभित्रका अनियमितता रोकेरै छाड्ने भन्दै पदलाई धरापमा राखेर अधिकारीका अनियमितताका बिरुद्ध अडानमा थिए ।

मोटो आर्थिक चलखेलमार्फत महानिर्देशक बन्न सफल अधिकारीले भने सार्वजनिक रूपमै सुदन किराँतीलाई धेरै दिन टिक्न नदिने उद्घोष गरेका थिए । उनै आधिकारीको चाहाना पुरा गर्नेगरि माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत र रेखा शर्मा मन्त्रीमा दोहोरिँदा एकजना सुदन किराँतीलाई मात्रै हटाएका छन् । किराँती हटेपछि निवासमै आयोजित दिवाभोजमा सहभागीसँग अधिकारीले किराँती हटाउने योजना आफैले बनाएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आउने नयाँ मन्त्रीले समेत आफूसँगै मिलेर नहिँडे धेरै दिन नटिक्ने सुनाए ।

नयाँ गठबन्धनपछि माओवादी केन्द्रले पाएका ६ मन्त्रालय मध्ये यसअघि भएकाबाट हटाइएको सुदन किराँतीको ठाउँमा हित बहादुर तामाङ आएका छन् । यसबाहेक दोहोरिएका रेखा शर्मा र शक्ति बस्नेत पुरानै मन्त्रालयको जिम्मेवारीमा छन् भने,श्रेष्ठको मन्त्रालय परिवर्तन भएर,उपप्रधान एवम् परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन्। यस्तै माओवादी केन्द्रलाई थपिएको अर्थ मन्त्रालयमा वर्षमान पुन आएका छन् ।